
मेक्सिको सिटी, ११ चैत । संयुक्तराज्य अमेरिकाको दक्षिणी सीमा मामिला सम्बन्धी अमेरिकी संयोजक रोबर्टा ज्याकोब्सनले मेक्सिको हुँदै अमेरिका प्रवेश गर्न चाहिरहेका आप्रवासीलाई अमेरिका–मेक्सिकोको सीमामा नआउन आग्रह गरेका छन् । अमेरिका प्रवेश गर्ने चाहना बोकेका तर प्रवेशाज्ञा अनुमतिको कागजात नभएका हजारौं व्यक्ति मध्य अमेरिकी मुलुकहरुबाट आइरहेका समाचार बाहिरिएसँगै उनले अमेरिकी सीमा बन्द गरिएको जानकारी दिए ।
मेक्सिको सिटीमा रहेको अमेरिकी राजदूताबासबाट सार्वजनिक गरिएको उनको एउटा अडियो सन्देशमा भनिएको छ, “सीमामा नआउनु होला । सीमा बन्द गरिएको छ ।” ज्याकोब्सनले अवैधानिक ढङ्गबाट संयुक्तराज्य अमेरिका प्रवेश गर्न चाहने व्यक्तिहरु आपराधिक तत्वहरु र मानव तस्करबाट पीडित हुने जोखिम पनि रहने बताए । राष्ट्रिय सुरक्षा परिषदमा दक्षिण अमेरिकी प्रमुख हुवाँ गोन्जालेज र ज्याकोब्सनले मेक्सिकोका विदेश मन्त्री मार्सेलो एब्रार्डसँग मेक्सिको सिटीमा वार्ता गरेपछि ज्याकोब्सनको अडियो सार्वजनिक गरिएको हो ।
आर्थिक सङ्कट, अपराध र पर्यावरणीय विपदबाट जीवन कष्टप्रद भएको जनाउँदै मध्य अमेरिकी मुलुकहरुबाट ठूलो संख्यामा मानिसहरु अमेरिका प्रवेश गर्न मेक्सिकोको बाटो हुँदै उत्तरतर्फ बढेका छन् । बालबच्चा सहित ठूलो संख्यामा मानिसहरु कैयौं दिनदेखि हिँडेरै अमेरिकी सीमामा पुग्न लागेको आप्रवासीका क्षेत्रमा कृयाशील सङ्घसंस्थाले जनाएका छन् । ज्याकोब्सनले सन्देशमा मेक्सिकोको उत्तरी सीमा क्षेत्रमा यात्रा निकै कठिनाइपूर्ण रहेको बताउँदै मानव तस्करहरुले सीमापार गराइदिने प्रलोभनमा लुटपाट र शोषण गर्न सक्ने खतरा रहेको बताए ।
यसबाहेक, विश्वभर नै कोरोनाभाइरसको महामारी फैलिइरहेको अवस्थामा ठुल्ठूलो समूहमा हिँड्दा वा शिविरमा बस्दा कोरोनाभाइरसको सङ्क्रमण हुने खतरा अरु बढ्ने बताउँदै उनले आप्रवासी प्रक्रियाका बारेमा बढीभन्दा बढी जानकारी लिन र सुरक्षित रहन आग्रह गरे । अमेरिकी भन्सार तथा सीमा सुरक्षा प्रशासनले उपलब्ध गराएको तथ्याँकमा गत फेब्रुअरीको एक महिनामै अमेरिका प्रवेश गर्न खोज्ने करिब एक लाख व्यक्तिलाई सीमा क्षेत्रमा नियन्त्रण गर्नु परेको उल्लेख छ । आप्रवासीको संख्या दिनहुँ बढ्दै गएका खबरहरु सार्वजनिक भएलगत्तै राष्ट्रपति जो बाइडेनले त्यस्ता आप्रवासीलाई आफ्नो देश नछाड्न आग्रह गरे ।
तर राष्ट्रपति बाइडेनको आग्रहलाई समेत बेवास्ता गर्दै ठूलो संख्यामा आप्रवासीहरु अमेरिकी सीमा क्षेत्रमा ओइरिन थालेपछि अमेरिका र मेक्सिकोबीच वार्ता हुन थालेको छ । मेक्सिकोले अमेरिकातर्फ हिँडेका मध्य अमेरिकी आप्रवासीलाई आफ्नो सीमामै रोक्न दक्षिणी सीमा क्षेत्रमा सुरक्षा गस्ती बढाएको छ । जनवरी यतामात्र मध्य अमेरिकाबाट मेक्सिकोतर्फ हिँडेका कागजात विहीन ४ हजार १८० बालबालिकालाई नियन्त्रणमा लिइएको थियो । ज्याकोब्सन र गोन्जालेज दुबै हाल मेक्सिकोमा रहेका छन् । उनीहरू आप्रवासीको आप्रवाहलाई व्यवस्थापन गर्ने सम्बन्धमा योजना निर्माणका लागि मेक्सिकोका अधिकारीहरुसँग छलफलमा व्यस्त रहेका छन् ।
आप्रवासीको मुद्दालाई सम्बोधन गर्न भन्दै बाइडेन प्रशासनले ४ अर्ब डलर विकास सहायता यस क्षेत्रका मुलुकलाई उपलब्ध गराउने बताएको छ । अमेरिकी प्रतिनिधिमण्डलले बुधबार ग्वाटेमालाका अधिकारीहरुसँग पनि बैठक गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ ।








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




