राष्ट्र बैंकले मुद्धती निक्षेपमा ३ अर्ब ४५ करोड लगानी गर्दै, कहिलेसम्म पेश गर्ने बोलकबोल ?

-



     सफल आवाज    
     चैत्र १२ गते २०७७ मा प्रकाशित



काठमाडौं, १२ चैत । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्धती निक्षेपमा ३ अर्ब ४५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । बैंकले १ वर्षे मुद्धती निक्षेपमा यो लगानी गर्न लागेको हो । उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकमलाई २०७८ साल वैशाख २ गतेबाट २०७९ साल वैशाख १ गतेसम्म एक वर्षका लागि लगानी गर्न लागेको हो ।

यसका लागि निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गरिने ब्याजदर समावेश गरेर चैतको १३ गतेसम्म बोलकबोल पेश गर्नुपर्नेछ । यसको ब्याज मासिक रुपमा भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको यो योजनामा इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुको मुद्धती निक्षेपमा लगानी गरिने भएको छ । राष्ट्र बैंकले क वर्गका बैंकहरुमा २ अर्ब ७६ करोड, ख वर्गका राष्ट्रिय स्तरका बैंकहरुमा ५१ करोड ७५ लाख तथा ग वर्गमा वित्तीय संस्थाहरुमा १७ करोड २५ लाख रुपैयाँ लगानी गर्ने भएको छ ।

यसका लागि बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा त्यसवापत प्रस्ताव गरिएको ब्याजदर खुलाएर आवेदन दिन राष्ट्र बैंकले आग्रह गरेको छ । राष्ट्र बैंकले यो प्रयोजनका लागि केहि सीमाहरु तोकेको छ । बैंक तथा वित्तीय संस्थाहरु जो स्थापना भएको दुई वर्ष पुगेका वा त्यो भन्दा माथिकाहरुले न्यूनतम पूँजी कोष कायम रहेको, खराब कर्जा कुल कर्जा सापटको ५ प्रतिशतभन्दा बढी नभएको हुनुपर्ने सर्त रहेका छन्।

यस्तै कर्जा स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमामा रहेको र गएको वर्षमा बैंकले मुनाफा कमाएको हुनु पर्नेछ । यस्तै घर जग्गा कर्जा बैंकबाट तोकिएकोे भन्दा बढी नभएको, संचालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी संचालक कानूनी कारवाहीमा नपरेको वा कारवाही फुकुवा भएको ६ महिना पुगेको लगायतका हुनुपर्ने सीमाहरू रहेका छन् ।