होलीमा युवाबीच झडप हुँदा २ को मृत्यु

-



     सफल आवाज    
     चैत्र १५ गते २०७७ मा प्रकाशित



पोखरा, १५ चैत । बागलुङ, गुल्मी र प्यूठानको सीमा क्षेत्रमा आइतबार साँझ युवाबीच झडप हुँदा २ जनाको मृत्यु भएको छ । घटनामा १० देखि १२ जनासम्म बेपत्ता भएको बताइएको छ ।

३ जिल्लाको सीमा बल्देधुरीमा होली मनाउन गएका युवाबीच झडप भएको र घटनामा बागलुङको निसीखोला ७ का २ जना युवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी इकवाल हवारीले बताए । उनका अनुसार मृत्यु हुनेमा ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमै हुन् ।

उनीहरुको शव बल्देधुरीको भीरबाट ५ सय मिटर तल खसेको अवस्थामा फेला परेको हो । मृत्यु हुने दुवै युवा नेपाली कांग्रेसका कार्यकर्ता रहेको निसिखोला ७ का वडाध्यक्ष तेजेन्द्रविक्रम कुँवरले बताए।

होली मनाउन तथा पिकनिक खान युवाहरु बल्देधुरीमा भेला भएको बताइएको छ । प्रहरी टोली घटनास्थल जाँदै गरेको छ ।