आइएमई जनरल इन्स्योरेन्सले बोलायो साधारण सभा, हकप्रद शेयर निष्काशन गर्ने

-



     सफल आवाज    
     चैत्र २१ गते २०७७ मा प्रकाशित



काठमाडौं, २१ चैत । आइएमई जनरल इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । संचालक समितिको बैठकले ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो । यसका लागि समितिले वैशाख १२ गते २३ औं साधारण सभा बोलाएको छ ।

सभाबाट आर्थिक वर्ष २०७६/२०७७ को मुनाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर तथा ०.३७ प्रतिशत नगदसहित ७.३७ प्रतिशत लाभांश वितरणको प्रस्तावलाई पारित गर्ने भएको छ ।

साधारण सभामा आर्थिक वर्ष २०७६/२०७७ को वार्षिक प्रतिवेदन, लेखापरिक्षण, लेखापरिक्षकको पारिश्रमिक ताेक्ने, वित्तीय विवरण लगायतका एजेण्डाहरुमा छलफल गरी पारित गरिने भएको छ ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब ८ करोड १८ लाख ३६ हजार ८४२ रुपैयाँ रहेको छ भने हकप्रद शेयर जारी भएपछि चुक्ता पूँजी १ अर्ब ६२ करोड ६ लाख ९० हजार रुपैयाँ पुग्ने भएको छ ।

कम्पनीले आगामी वैशाख १२ गते २३ औं साधारण सभा नक्सालस्थित केन्द्रिय कार्यालयमा वैशाख १२ गते बिहान १० बजे बोलाईएको छ ।

साधारण सभाको प्रयोजनार्थ कम्पनीले वैशाख १ गते बुक क्लेज गर्ने बताएको छ । साधारण सभामा भाग लिन तथा लाभांश प्राप्तिका लागि चैत ३१ गतेसम्म कायम भएका शेयरधनीहरु याेग्य हुनेछन् ।