सुनचाँदी व्यवसायी महासंघद्वारा व्यवसायी प्रदीपको हत्या भएकोमा आपत्ति प्रकट

-



     सफल आवाज    
     चैत्र २९ गते २०७७ मा प्रकाशित



काठमाडौं, २९ चैत । नेपाल सुनचाँदी व्यवसायी महासंघले सिरहाको लहानका अमिता ज्वेलर्सका संचालक प्रदीप विश्वकर्माको लुटेराद्वारा हत्या भएको भन्दै आपत्ति प्रकट गरेको छ । ४० वर्षिय विश्वकर्माको शनिवार लुटेराको समूहले गोली हानि हत्या गरेको थियो । महासंघले हत्यामा संलग्नलाई कारबाही तथा मृतकका परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै सुनचाँदी व्यवसायीको सुरक्षाको माग गरेको छ ।

लाहानमा घटेको यस प्रकारको हत्याको घटनाले मुलुकको सुरक्षा व्यवस्थामा प्रश्न चिन्ह खडा भएको बताउँदै महासंघले व्यावसायीक सुरक्षाको माग गरेको छ । लहान नगरपालिका २३ गढियाचोकमा सुनचाँदीको पसल संचालन गर्दै आएका प्रदीपको हत्या गरी लुटेराले गरगहना लुटपाट गरेका थिए । लुटपाटको क्रममा प्रदीपकी श्रीमती अमिता विश्वकर्मा घाईते भएको प्रहरीले बताएको छ ।

हामी व्यावसायीक क्षेत्रमा भएको लुटपाट र हत्याको निन्दा गर्दछौं, यस घटनाले शान्ति सुरक्षाको कमजोर अवस्थालाई चित्रण गरेको र आमा व्यवसायीलाई हतोत्साही बनाएको महासंघले जनाएको छ । महासंघले बिज्ञप्ती प्रकाशित गरी व्यावसायीक क्षेत्रमा हुने यस्ता क्रियाकलापलाई नियन्त्रण गरी शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसंग माग गरेको छ ।