
पोखरा, ३१ चैत । पोखरा घुम्न आउनेहरुको लागि साहसिक गन्तव्य थप भएको छ ।
बन्जी नेपाल एड्भेन्चर्स प्रालिले नयाँ वर्षको सुरुवातसँगै पोखरा–१७, रातोपैह्रामा बन्जीको उद्घाटन गर्दैछ । जसको सफल परीक्षण भइसकेको बन्जीस्थलमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा जनाइयो ।
प्याराग्लाइडिङका लागि उत्कृष्ट ठहरिएको पोखरालाई बन्जी जम्पको पनि हब बनाउन ८ करोड २५ लाख रुपैयाँ लगानीमा बन्जी जम्प संचालनमा आएको कम्पनीका अध्यक्ष सन्तोष भट्टराईले जानकारी दिए । पोखराका युवा व्यवसायी भट्टराई सहित कम्पनीमा राजु कुँवर, अशोक गुरुङ, दुर्गादत्त खरेल, दिल गुरुङ, दामोदर बराल, कल्पना पौडेल, भूपालबहादुर बराल क्षेत्रीको संयुक्त लगानी छ ।
क्यान्टिलिभर ब्रिजको डिजाइनमा निर्माण गरिएको बन्जी ३५ मिटर अग्लो टावरको फेदबाट जम्पका लागि ५५ मिटर लामो प्लेटफर्म निर्माण गरिएको छ । सेती नदीको खोंचमा बनेको र फराकिलो हिमश्रृंखला हेर्दै जम्प गर्न पाइने भएकोले यसको थप आकर्षण रहेको कम्पनीको दाबी छ।
बन्जीको २ प्लेटफर्म नदीदेखि १०१ र १०५ मिटरमा छन् । यो नै दुई फरक उचाइमा जम्प गर्ने नेपालको पहिलो जम्प साइट हो । साधारण बन्जीमा १०१ मिटर अग्लो प्लेटफर्मबाट गराइन्छ । साइकल जम्प, बकेट जम्प, टेन्डम जम्प लगायत विशेष जम्पको पनि सुविधा रहेको कम्पनी अध्यक्ष सन्तोष भट्टराईले बताए ।
परीक्षणको पहिलो जम्प गो बन्जी (बन्जी जापान) का संस्थापक बिउ रिटालिकले गरेका थिए । रिटालिकसँगै बन्जीको संचालनका लागि जापानबाट बन्जी जापानकै जनरल म्यानेजर डेबिड पोखरा आएका छन् । गो बन्जीको नेपाल फ्रेन्चाइजको रुपमा बन्जी नेपाल एड्भेन्जरको स्थापना भएको हो । गो बन्जीको विश्वभर ११ फ्रेन्चाइज रहेको छ । यसको मुख्य कार्यालय सिंगापुरमा छ ।
चीनमा रहेको विश्वकै अग्लो बन्जी जम्प जस्तै गो बन्जीकै फ्रेन्चाइजका रुपमा नेपालमा बिस्तार गरिएको बताइएको छ । बन्जी परिसरमा रेन्टुरेन्ट तथा कफी सप समेत संचालनमा आइसकेका छन् ।
दैनिक ४० जनासम्म बन्जी गर्न सक्ने क्षमता रहेको र नियमित रुपमा संचालन भए ५ वर्षभित्र लगानी उठाउन सकिने कम्पनीले जनाएको छ ।
पोखरा–२५ हेमजामा ५ वर्षअघि जिप फ्लाएर कम्पनीले बन्जी जम्प संचालन गरिसकेको छ ।







पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



