जनतामा आशा जगाउने काम भएको छ: प्रम ओली

-



     सफल आवाज    
     वैशाख १ गते २०७८ मा प्रकाशित



काठमाडौं, १ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतामा आशा जगाउने ढंगले काम गरिरहेको दाबी गरेका छन् ।

नयाँ वर्ष २०७८ को अवसरमा बुधवार बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् ।

उनले प्रतिकूलताका बावजुद विगत वर्षमा सरकारले जनताको विश्वास जितेको र नयाँ वर्षमा पनि केही उल्लेख्य काम गर्ने बताए । उनले निर्दिष्ट लक्ष र गन्तव्यका साथ काम गरिरहेको समेत बताए ।

‘जनतामा आशा जगाउने काम गरेका छौं, जनतामा असन्तुष्टि भड्काउने प्रयास भएपनि सरकार त्यसबाट किँचित विचलित भएन । भविष्यप्रति आशा र विश्वास जगाउने काम ग¥यौं,’ ओलीले भने ।

नयाँ वर्षको दिन पारेर ‘मेरो कित्ता’ नामक एप्स ल्याएर जनताले आफ्नो पुर्जा मोबाइलमै हेर्न सक्ने व्यवस्था गर्न लागेको बताए । यसै महिनादेखि जनकपुरदेखि नियमित रुपमा रेल संचालन हुने तथा वैशाख ११ गते काठमाडौंको धरहरा उद्घाटन गर्न लागेको ओलीले बताए ।

‘कोरोनाको असर र राजनीतिक अस्वस्थता देखा परेपनि निरर्थक वर्ष रहेछ । काठमाडौंका धारा धारमा पानी पु¥याएर दशकौं लामो सपना पूरा भएको छ । प्रतिकुल अवस्थामा पनि अनलाइनबाट भएपनि शिक्षालाई अगाडि बढाउन सक्यौ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले २०७६ सालमा सीके राउतलाई मूल धारमा ल्याएर देशबाट पृथकतावादलाई अन्त्य गरेको र २०७७ सालमा विप्लव समूहलाई राजनीतिको मूलधारमा ल्याएर हिंसाको राजनीतिको अन्त्य गरेको बताए ।

प्रधानमन्त्री ओलीले कोभिड–१९ बाट सावधान रहन तथा बचाउका उपाय अबलम्बन गर्न आग्रह गरे । ‘सरकारले लिएको सही नीतिका कारणले हामी असफल भएनौं, सामाजिक जनजीवन र आर्थिक क्षेत्रमा कम क्षती भयो,’ ओलीले भने ।

झण्डै ४५ मिनेट लामो सम्बोधन क्रममा ओलीले अरुको आलोचना भन्दापनि सरकारको कामको बचाउ गरे । कोरोना संक्रमण फैलिन नदिन सुरक्षा सावधानीका उपाय अपनाउन ओलीले आग्रह गरे ।