गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

-



     सफल आवाज    
     वैशाख २ गते २०७८ मा प्रकाशित



पोखरा, २ वैशाख । गण्डकी प्रदेश सरकारको चालू सातौं अधिवेशन अन्त्य भएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश सरकारले नेपालको संविधान धारा १८३ को उपधारा (२) बमोजिम प्रदेशसभाको चालु अधिवेशन वैशाख १ गते मध्यरातदेखि अन्त्य गरेको हो ।
चालु अधिवेशन २०७७ चैत २५ देखि सुरु भएको थियो ।

मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी हुँदा सरकारले संसद अधिवेशन अन्त्य गरेको हो ।

राष्ट्रिय जनमोर्चा नेपालले सरकारलाई दिँदै आएको समर्थन बुधबारदेखि फिर्ता लिने निर्णय गरेपछि गुरुङ सरकार धरापमा परेको छ ।

नेकपा एमाले बाहेकका दलहरु माओवादी केन्द्र, नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा नेपाल र जनता समाजवादी पार्टी (जसपा) गरी ४ दलहरु सरकार गठबन्धन गरी अविश्वासको प्रस्ताव दर्ताको तयारीमा थिए ।

त्यसको निम्ति बिहान ११ः०० बजे अविश्वास प्रस्तावबारे संसद सचिवालयमा सूचना दिने आन्तरिक तयारी थियो । तर बिहान १०: ३० बजे संसद अधिवेशन अन्त्य भएको पत्र संसद सचिवालयमा पेस भएकोमा १०ः ३५ बजे दर्ता भएको थियो ।