मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

-



     सफल आवाज    
     वैशाख २ गते २०७८ मा प्रकाशित



पोखरा, २ वैशाख । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सदस्यहरुको संयुक्त हस्ताक्षर सहितको अविश्वास प्रस्ताव प्रदेशसभामा सचिव हरिराज पोखरेल समक्ष बिहीबार बुझाएका छन् ।

जसमा नेपाली काँग्रेसका १५, माओवादी केन्द्रका ११, जनता समाजावादी पार्टीका २ जना सदस्यले हस्ताक्षर गरेका छन् । सो प्रस्ताव बुझाउनु अघि सरकारलाई दिएको समर्थन माओवादी केन्द्रका तर्फबाट हरिबहादुर चुमानले फिर्ता लिएको प्रदेश सचिवालयमा जानकारी दिएका थिए ।

अविश्वास प्रस्ताव बुझाउनुअघि राष्ट्रिय जनमोर्चा नेपाल सहितको बैठक बसेको थियो ।

यसैबीच, काँग्रेस दलका नेता कृष्णचन्द्र नेपालीले सरकारले सोचेभन्दा फरक ढंगले आफूहरु अघि बढ्ने बताएका छन् ।

विपक्षी दलहरुले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि मुख्यमन्त्रीले गएराति नै चालु संसद अधिवेशन भंग गरेका थिए ।