
काठमाडौं, ३ वैशाख । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई मध्यनजर गरी विद्यालयमा भौतिक उपस्थितिको सट्टा भर्चुअलमाध्यमबाट पठनपाठन गराउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको आज बसेको बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विज्ञप्ति, विज्ञको सुझाव तथा बैठकमा उठेका विषयअनुसार स्कूले बालबालिका कोरोना सङ्क्रमणको जोखिममा देखिएकाले सो व्यवस्था गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको हो । समिति सभापति तारादेवी भट्टले विद्यालयमा बालबालिकालाई कोरोना सङ्क्रमण भएको पुष्टी भइसक्दा पनि लापरवाही गर्ने विद्यालयको अनुगमन गरी कारवाही गर्न निर्देशन दिइन । साथै उनले कोराना प्रभावित जिल्लामा वैकल्पिक विधिबाट पठनपाठनको व्यवस्था गराउन तथा स्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गराउनसमेत निर्देशन दिइन ।
यसैगरी बैठकले दिगो विकास लक्ष्य मैत्री बजेट भयो वा भएन हेर्नु जरुरी रहेको उल्लेख गर्दै राष्ट्रिय योजना आयोग र सम्बन्धित मन्त्रालयले सो विषयमा चनाखो हुनुपर्ने निष्कर्ष निकालेको छ । समितिले दिगो विकास लक्ष्य कार्यान्वयनका लागि आगामी बजेटमा बढी भन्दा बढी व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।
बैठकमा सांसदले सो विषयमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, विज्ञलगायतसँग छलफल गर्नुपर्ने धारणा व्यक्त गरे । बैठकले काठमाडौं उपत्यकासहित देशभरी अहिले देखिएको वातावरण प्रदूषण सम्बन्धमा आगामी बजेटमा प्रदूषण मुक्त शहर बनाउन आवश्यक कार्यक्रमका लागि उचित व्यवस्था गर्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिने निर्णयसमेत गरेको छ ।
बैठकले तेश्रो मुलुकबाट हुने सुपारीको व्यापारमा भइरहेको नीतिगत अनियमितताका बारेमा सम्बन्धित निकायसँग छलफल गर्ने निर्णय गर्दै समिति सदस्य रमेशजङ्ग रायमाझीको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरेको छ । उपसमितिको सदस्यमा सांसद कविता बोगटी र गङ्गाकुमारी बेल्वासे रहेका छन् ।
बैठकमा समिति सदस्य वामदेव गौतमले काठमाडौं उपत्यकासहित देशभरी देखिएको वातावरण प्रदूषण नियन्त्रणका लागि विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । उनले डढेलो नियन्त्रण गर्न जङ्गलमा पोखरी निर्माण गर्नुपर्ने र आगलागी नियन्त्रण गर्ने हेलिकोप्टर तथा ग्यासको व्यवस्था तयारी अवस्थामा राख्न सरकारलाई सुझाव दिए ।
सांसद दीनानाथ शर्माले भारतमा कोराना सङ्क्रमण व्यापकरुपमा वृद्धि भएकाले नेपालका सीमानाकामा कडा निगरानी राख्नुपर्ने बताए ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



