
लुम्बिनी, ६ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले आज प्रदेश सरकारको मन्त्रिमण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारलाई समर्थन गर्दै मन्त्रिमण्डलमा रहेका माओवादी केन्द्रका दुई मन्त्रीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै पदबाट राजीनामा दिएर प्रदेशसभामा सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको केही समयमै मुख्यमन्त्री पोखरेलले तीन मन्त्री र एक राज्यमन्त्री थपेर मन्त्रिमण्डल विस्तार गरेका हुन ।
मुख्यमन्त्री पोखरेलले नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम विस्तार गरेको मन्त्रिमण्डलमा जनता समाजवादी पार्टीका तर्फबाट रुपन्देहीका सन्तोषकुमार यादव भौतिक पूर्वाधार विकासमन्त्री, बाँकेका विजयबहादुर यादव कृषि व्यवस्था भूमि तथा सहकारीमन्त्री र अर्घाखाँचीकी कल्पना पाण्डे शिक्षा तथा सामाजिक विकासमन्त्रीमा नियुक्त भएका हुन ।
यस्तै मुख्यमन्त्री पोखरेलले बर्दियाकी सुमन शर्मा रायमाझीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा नियुक्त गरेका छन्। मुख्यमन्त्री पोखरेलले थप गरेका नवनियुक्त तीनजना मन्त्रीले आजै प्रदेश प्रमुखको कार्यालयमा प्रदेशप्रमुख धर्मनाथ यादवसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । राज्यमन्त्री रायमाझीले प्रदेशप्रमुखको उपस्थितिमा मुख्यमन्त्री पोखरेलसमक्ष शपथ लिएकी हुन ।
यस्तै मुख्यमन्त्री पोखरेलले पुराना मन्त्रीहरुको जिम्मेवारीमा समेत हेरफेर गरेका छन् । यसअघि भौतिक पूर्वाधार विकासमन्त्रीको जिम्मेवारीमा रहेका मन्त्री बैजनाथ चौधरीले आजदेखि आर्थिक मामिला तथा योजना, ग्रामीण तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यस्तै, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीको जिम्मेवारीमा रहेका मन्त्री लीला गिरीलाई आन्तरिक मामिला तथा कानून र स्वास्थ्य तथा जनसङ्ख्या र कृषि व्यवस्था, भूमि तथा सहकारीमन्त्रीको जिम्मेवारीमा रहेकी मन्त्री आरती पौडेलले उद्योग, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।
मन्त्री पदको शपथलगत्तै नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री यादवले आफूहरुले अन्य प्रयोजनका लागि गरिएको हस्ताक्षरको दुरुपयोग गरेर अविश्वासको प्रस्तावमा प्रयोग गरिएको स्पष्ट पारे । उनले सरकारमा सहभागितासँगै उक्त अविश्वासको प्रस्तावको औचित्य सकिएको र अब वर्तमान सरकारमा रहेर देश र जनताको हितमा काम गर्ने प्रतिबद्धता जनाए ।
आजै दिउँसो नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका ४१ सांसदको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।
मन्त्रिपरिषद्को बैठक
मुख्यमन्त्री पोखरेलको नेतृत्वमा आज नियुक्त भएका मन्त्रीसहितको पहिलो मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०७८, ७९ मा प्रदेशभित्रका स्थानीय तहहरुलाई प्रदेश सरकारले उपलब्ध गराउने अनुदानको सीमा संशोधन गर्ने निर्णय गरेको छ । सरकारले स्थानीय तहलाई आगामी आर्थिक वर्षमा वित्तीय समानीकरण अनुदानको कूल सीमा रु ७० करोड तोकेको छ ।
यस्तै समपूरक अनुदानअन्तर्गत गाउँपालिकालाई रु एक करोड ५० लाख, नगरपालिकालाई रु दुई करोड र उपमहानगरपालिकालाई रु तीन करोड गरी जम्मा सीमा रु एक अर्ब ८५ करोड ५० लाख कायम गरिएको बैठकपछि सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।
विशेष अनुदानका रुपमा मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमतर्फ गाउँपालिकालाई रु ६० लाख, नगरपालिकालाई रु ७० लाख र उपमहानगरपालिकालाई रु ८० लाख उपलब्ध गराउने गरी विशेष अनुदानको कूल रकम रु एक अर्ब कायम गर्ने निर्णय गरिएको प्रवक्ता चौधरीले जानकारी दिए । आजको बैठकमा पहिलोपटक भाग लिन आएका नवनियुक्त मन्त्रीहरुलाई मुख्यमन्त्रीले खादा लगाएर बैठकमा स्वागत गरेका थिए ।
जसपा लुम्बिनीद्वारा चार सांसदलाई कारबाही

समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्पमा आन्दोलनकारी दलहरुसंग सहकार्य गरी नयाँ सरकार बनाउने भूमिकामा जसपा रहेको बताउँदै आजै लुम्विनी प्रदेश सरकारमा सहभागि भएको भन्दै कारबाही गरेको जनाएको छ । जसपा लुम्बिनी प्रदेशका अध्यक्ष अशोक कुमार यादवले आज एक विज्ञप्ति प्रकाशित गरी अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेपछि प्रस्ताव संसद सचिवालयमा दर्ता पनि भईसकेको थियो ।
यस्तो अवस्थामा पार्टीका सांसदहरु विजय बहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालले पार्टीको निर्णय विपरीत सरकारमा सहभागि भई सपथग्रहण गरेको हुँदा २४ घन्टामा चित्तबुझ्दो जवाफ दिन, सरकारबाट फर्किन स्पष्टिकरण मागेका छन् । उनीहरुको चित्तबुझ्दो जवाफ तथा स्पष्टिकरण नआएको खण्डमा सांसद पद नरहने गरी कारबाही गरिने चेतावनि दिईएको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



