गण्डकी प्रदेशसभा सांसद हराउँदा प्रदेशसभा स्थगित

-



     सफल आवाज    
     वैशाख १५ गते २०७८ मा प्रकाशित



गण्डकी, १५ वैशाख । मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्तावमाथि मतदान हुने भनी निकै महत्वका साथ हेरिएको गण्डकी प्रदेशसभाको बुधबारको बैठक अन्ततः स्थगित भएको छ । सदन चलिरहँदा आफ्नो पार्टीका सांसद खिमविक्रम शाही सम्पर्कमा नआएको भन्दै उनको अवस्था सार्वजनिक माग गर्न राष्ट्रिय जनमोर्चा नेपालले प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गरेको थियो ।

पार्टीका सचेतक पियारी थापाले सो व्यहोरा उल्लेख गर्दै उनको अवस्था सार्वजनिक गर्न, निजको जीवन रक्षा गर्न र निज सार्वजनिक नभएसम्म सदनको कारबाही सञ्चालन नगर्न माग गरेकी थिइन् । सोही बमोजिम प्रदेश सभा सचिव हरिराज पोखरेलले सूचना जारी गर्दै थापाले निवेदन दिएको अवस्थामा निवेदन माथि सम्बोधन नगरी बैठक सञ्चालन गर्न उपयुक्त नभएकोले अर्को सूचना नभएसम्मका लागि आजको वैठक स्थगित भएको जनाएका हुन् ।

यसैबीच, राजमोका संसदीय दलका नेता कृष्ण थापाले आफ्ना सांसद शाही दिउँसो १ बजेसम्म सम्पर्कमा रहेको जनाएका छन् । उनले शाहीविरुद्ध स्पष्टीकरण सोधिने पत्रकारलाई बताए । उनले भने, संसद चल्नु अघि कुरा हुँदा आफू आउने भन्नुभएको थियो । यसबारेमा हामी बुझ्छौं । यदि नियतवश नआएको भए स्पष्टीकरण सोध्छौ ।’

स्रोतका अनुसार सांसद शाही पोखराको चरक मेमोरियल अस्पतालको आइसियूमा उपचार रहेका छन् । उनी के कति कारणले एक्कासी बिरामी परे भन्ने चर्चामा छ । नेकपा एमालेका सांसद कृष्ण थापाले यो प्रक्रिया संसदीय अभ्यासविरुद्ध भएको बताए । उनले सबैसँग छलफल गरेरमात्र संसद स्थगित गर्नुपर्ने धारणा राखे ।

यसैगरी बैठकमा स्वतन्त्र सांसद दीपक मनाङ्गे (राजीव गुरुङ) पनि उपस्थित भएनन् । दिउँसो सवा १ बजेदेखि सुरु संसद बैठक ४ बजेतिर आधाघण्टाका लागि स्थगित गरिएको थियो । पछिल्लो घटनाक्रमले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकार तत्कालका लागि जोगिएको छ । प्रदेशसभा चलिरहँदा जनमोर्चाका सांसद उपस्थित नभएपछि अविश्वासको प्रस्तावमा समर्थन जनाएका दलका सांसदहरु खोजीमा लागेका थिए । पछि मुख्यमन्त्री गुरुङ पनि झण्डै ४५ मिनेट जति प्रदेशसभाबाट बाहिरिएर पुनः उपस्थित भएका छन् ।

प्रदेशमा कुल ६० सांसदमध्ये एमालेका २७, काँग्रेसका १५, माओावदी केन्द्रका १२, जनमोर्चाका ३, जनता समाजवादी पार्टी (जसपा) का २ तथा स्वतन्त्र १ सांसद छन् । बहुमत मत पुग्न ३१ सदस्य आवश्यक पर्छ । काँग्रेससहितका दलहरुले भावी मुख्यमन्त्री कृष्ण चन्द्र नेपालीलाई अघि सार्दै गत वैशाख २ मा दर्ता गरेको अविश्वासको प्रस्तावमाथि बैठकमा सांसदहरुले बोल्ने क्रम जारी थियो । बैठक अनिश्चितका लागि स्थगित भएको छ ।