
पोखरा, १६ वैशाख । गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि बुधबार सदनमा मतदान गर्ने कार्यसूचीकै दिन बिरामी भएको भन्दै सदन चलेका राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीले आफू पार्टीप्रति प्रतिवद्ध रहेको प्रष्ट गरेका छन् ।
पोखराको चरक मेमोरियल अस्पतालको कोभिड बार्डमा बुधबारदेखि उपचाररत् सांसद शाहीले भोलिपल्ट बिहीबारमात्र विज्ञप्ति जारी गरी आफ्नो पार्टी राष्ट्रिय जनमोर्चा नेपालको निर्णयप्रति प्रतिबद्ध रहेको र अविश्वासको प्रस्तावको पक्षमै मतदान गर्ने प्रष्ट पारेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘अहिले समाचार र सामाजिक सञ्जालमा प्रचार भएका विभिन्न भ्रामक खबरबाट आफ्नो धारणा बनाएर विचार प्रकट नगरी दिनुहुन सम्पूर्ण दाजुभाइ दिदीबहिनी र मेरा शुभचिन्तकहरुमा प्रष्ट पार्न चाहन्छु । पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा मेरो पनि सहभागिता रहेका कारण ती निर्णयहरुप्रति मेरो पनि सहमति रहेकाले त्यस विषयमा पार्टी प्रतिबद्वता कायमै छ । ’
उनले अगाडि भनेका छन्, ‘मेरो स्वास्थ्यप्रति गम्भीर भई उपचारमा सहयोग गर्नु हुने स्वास्थ्यकर्मी, स्वास्थ्यप्रति चासो र चिन्ता प्रकट गर्नुहुने मेरा पार्टीका नेता, प्रदेशसभाका माननीयज्यूहरु, अग्रज साथीहरु र सम्पूर्ण शुभचिन्तकमा धन्यवाद प्रकट गर्दछु ।’
बुधबार अविश्वासको प्रस्तावमा शाहीको अनुपस्थितिमा मत विभाजन भएको भए गुरुङ नेतृत्वको सरकार जोगिने थियो । तर हठात् सभामुख नेत्रनाथ अधिकारीले सदन अनिश्चितकालका लागि स्थगित गरेका थिए ।
मंगलबार प्रदेशका ६० सांसदहरुको कोरोना परीक्षण गरिएकोमा पछिल्लो समय शाहीसहित ४ सांसदलाई कोरोना पुष्टि भएको छ । आफ्ना सांसद हराएको भनी जनमोर्चाकी सांसद पियारी थापाले सदन चलिरहेको बेला प्रदेशसभा सचिवालयमा निवेदन दिएकी थिइन् । त्यसको केही समयपछि प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले सदन स्थगितको सूचना प्रकाशित गरेका थिए ।
प्रदेशका ६० सांसदमध्ये नेकपा एमालेका २७, काँग्रेसका १५, माओवादीका १२, राजमोका ३, जसपाका २ र स्वतन्त्र १ सांसद छन् । स्वतन्त्र सांसदको साथ मुख्यमन्त्री गुरुङलाई छ ।
गत वैशाख २ मा प्रमुख प्रतिपक्षी काँग्रेस सहितका दलहरुले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि वैशाख १३ का लागि बोलाइएको विशेष अधिवेशनमा ३ दिनदेखि छलफल जारी चलेको थियो । अविश्वासको प्रस्तावमा भावी मुख्यमन्त्रीको रुपमा काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई अघि सारिएको छ ।
चरकको ध्यानाकर्षण
अस्पतालमा उपचाररत् सांसद शाहीको विषयलाई लिएर चरक मेमोरियल अस्पतालको काम कारबाहीप्रति टीकाटिप्पणी आएको भन्दै अस्पतालले यसबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । साथै यस्ता भ्रामक अफवाहको पछि नलाग्न आग्रह समेत गरेको छ । गण्डकी प्रदेशमै पहिलोपटक निजीस्तरमा कोभिडका बिरामीको उपचार गरेर राज्यलाई सहयोग गरिरहेको भन्दै चरक मेमोरियलले बिरामी उपचारार्थ आएपछि उपचार गर्नु आफ्नो धर्म भएको बताएको छ । चरक मेमोरियलमा हाल ३२ कोरोना संक्रमितको उपचार भइरहेको छ ।







पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



