नेपाल राष्ट्र बैंकले २ अर्ब २१ लाख मुद्धती निक्षेपमा लगानी गर्दै

-



     सफल आवाज    
     वैशाख १८ गते २०७८ मा प्रकाशित



काठमाडौं, १८ वैशाख । नेपाल राष्ट्र बैंकले २ अर्ब २१ लाख मुद्धती निक्षेपमा लगानी गर्न लागेको छ । राष्ट्र बैंकले आफ्नो वित्तीय कोषमा रहेको सो रकमलाई ३६५ दिन अर्थात १ वर्षका लागि मुद्धती निक्षेपमा लगानी गर्न लागेको जानकारी गराएको छ ।

२०७८ साल जेठ २ गतेदेखि २०७९ साल जेठ १ गतेसम्म १ वर्षका लागि बैंक तथा वित्तीय संस्थाहरुको मुद्धती निक्षेपमा लगानी गर्न लागेको नेपाल राष्ट्र बैंक वित्त व्यवस्थापन विभागले एक सूचना प्रकाशित गरी जानकारी दिएको छ ।

राष्ट्र बैंकले ‘क’ बर्गका वाणिज्य बैंकहरुमा १ अर्ब ६० करोड १७ लाख रुपैयाँ लगानी गर्ने जनाएको छ । ‘ख’ बर्गका विकास बैंकहरुमा ३० करोड ३ लाख रुयैयाँ तथा ‘ग’ बर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा १० करोड १ लाख रुपैयाँसहित कुल २ अर्ब २१ लाख मुद्धती निक्षेपमा लगानी गर्ने भएको हो ।

राष्ट्र बैंकले लगानी गर्न लागेको उक्त रकमको लागि बैंक तथा वित्तीय संस्थाहरुले बैशाख २१ गते दिनको १ वजेसम्म आफुले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर खुलाएर शिलबन्दि दरभाउपत्र सम्बन्धि फाराम भरेर पेश गर्नुपर्ने छ ।

यसका लागि बैंक तथा वित्तीय संस्थाहरुले निश्चत शर्तहरुको पालना भने गर्नुपर्नेछ । बैंक तथा वित्तीय संस्था संचालनमा आएको दुई वर्ष पूरा भएको हुनुपर्नेछ । यस्तै बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको, खुद तरल सम्पति स्वदेशी निक्षेपको कम्तीमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको तथा आर्थिक वर्ष २०७६/२०७७ मा संचालन मुनाफामा रहेको लगायतका शर्तहरु पूरा गरेको हुनुपर्नेछ ।