कास्कीमा निषेधाज्ञा कडा, अब सार्वजनिक यातायात चलाउन नपाइने

-



     सफल आवाज    
     वैशाख १९ गते २०७८ मा प्रकाशित



पोखरा, १९ वैशाख । कोरोना भाइरसको प्रभाव बढ्दै गएपछि कास्कीमा जारी निषेधाज्ञामा कडाइ गरिने भएको छ ।

दोस्रो लहरको कोरोना रोकथामका लागि गत वैशाख १५ देखि २१ सम्म पहिलो चरणकाे निषेधाज्ञा गरिएकाे थियाे । दोस्रो चरणको निषेधाज्ञा वैशाख २१ गते बिहान ५ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म लागु हुनेछ ।

जसअनुसार सार्वजनिक यातायात संचालनमा रोक लगाइएको छ भने दैनिक उपभोग्य बस्तुहरुका पसल बिहान ५ देखि ९ बजेसम्ममात्रै संचालन गर्न सकिनेछ । बैंक तथा वित्तीय संस्थाहरु एक चौथाइ मात्र खोलिने र त्यहाँ एक चौथाइ कर्मचारीले मात्र सेवा दिनेछन् ।

गाडीमा जोरबिजोर प्रणाली हटाइएको छ । मठ मन्दिरहरुमा नित्य पूजामात्र गर्न सकिने भए पनि अन्य कार्य गर्न पाइने छैन । बिहान ५ देखि ९ बजेसम्म डिपार्टमेन्ट स्टोर्सहरुको हकमा खाद्यान्न सामान बिक्री गर्न पाइनेछ ।

ढुंगा, गिट्टी, बालुवा, रड, सिमेन्ट जस्ता निर्माण सामग्री बोक्ने सवारीसाधन दिउँसो १ देखि साँझ ५ बजेसम्म संचालन गर्न सकिनेछ ।

अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी विदेश जाने यात्रुको हकमा भिसा सहितको पासपोर्ट र हवाइ टिकटको प्रतिलिपि साथमा लिई एक जना आफन्त सहित यात्रा गर्न सकिनेछ । त्यसरी यात्रामा गएको आफन्त काठमाडौंबाट फर्किँदा विदेश यात्रामा गएको व्यक्तिको भिसा सहितको पासपोर्ट र हवाई टिकटको फोटोकपी साथै राख्नुपर्नेछ ।

उल्लेखित आदेश अवज्ञा गरेमा स्थानीय प्रशासन ऐन, २०२८, संक्रामक रोग ऐन, २०२० एवं अन्य प्रचलित कानुन बमोजिम कारबाही हुने जिल्ला प्रसासन कार्यालय कास्कीका प्रजिअ थानेश्वर गौतमले बताएका छन् ।