निषेधाज्ञामा अत्यावश्यक कामबाहेक बाहिर निस्कनेहरु पक्राउ

-



     सफल आवाज    
     वैशाख २२ गते २०७८ मा प्रकाशित



पोखरा, २२ वैशाख । निषेधाज्ञा अवज्ञा गर्दै लखरलखर सडक घुम्नेहरु प्रहरी फन्दामा परेका छन् । उनीहरुलाई पोखराका मुख्य मुख्य चोकबाट समातेर ठाउँको ठाउँ रोक्ने गरिएको छ । गन्तव्यमा जान नपाएका यात्रु भने मर्का परेको गुनासो गरेका छन् ।

गण्डकी प्रदेशको राजधानी पोखरामा दिनानुदिन कोरोनाका संक्रमित बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले जारी निषेधाज्ञा मंगलबारदेखि कडाइ गरेको छ । सुरुवातको दिन सम्झाएर पठाउने गरिएकोमा दोस्रो दिन बुधबार भने मास्क नलगाउने, अत्यावश्यक कामबाहेक बाहिर निस्कनेलाई प्रहरीले जहाँको तहीँ रोकेर राख्ने गरेको हो ।

यत्तिकैमा पोखराको पृथ्वीचोकमा ठूलो संख्यामा सर्वसाधारण समातिएका छन् ।

प्रशासनले गत वैशाख १५ देखि एक साताका लागि निषेधाज्ञा आदेश जारी गरेकोमा कोरोनाको महामारी बढ्दै गएपछि कडाइसहित अवधि थपेको हो । वैशाख २१ देखि वैशाख मसान्तसम्म अत्यावश्यक कामबाहेक बाहिर निस्कन पाइने छैन भने तोकिएको समयमा छुट प्रदान गरिएका सेवा लिन सकिने भए पनि अन्य सेवा रोकिएको छ ।

तस्बिर सौजन्य सुदर्शन रञ्जित ।