
काभ्रेपलाञ्चोक, २३ वैशाख । कोरोना सङ्क्रमणबाट दैनिक मृत्यु हुन थालेपछि शव व्यवस्थापनका लागि जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी)ले वाग्मती प्रदेशस्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरमा शवबाहन मागिने भएको छ ।
केन्द्रको बैठकले कोभिड–१९ को दोस्रो लहरबाट मृत्यु भएकासमेतको शव व्यवस्थापन हालसम्म नेपाली सेनाले आफ्नै व्यवस्थापनमा गर्ने गरेको र काभ्रेपलाञ्चोकमा निजीस्तर, सरकारी तथा स्थानीय तहमा शवबाहन नभएको हुँदा प्रदेशस्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरसँग शवबाहन माग्ने निर्णय गरेको हो ।
“दैनिक दुईभन्दा माथिको सङ्ख्यामा मृत्यु हुन थालेको छ, जिल्लामा शवबाहन नहुँदा प्रदेशमा माग्न लागेका हौँ”, केन्द्रका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले भने । उहाँका अनुसार केन्द्र मातहत रहने गरी हाललाई एक थान शवबाहन मागिएको हो । केन्द्रका अनुसार कोरोना सङ्क्रमणबाट अस्पतालमा उपचाररत काभ्रेपलाञ्चोकमा बुधबार चार र मङ्गलबार सात तथा सोमबार दुईको मृत्यु भएको थियो ।
पछिल्लो घटना विवरणअनुसार कोरोना सङ्क्रमण भएको थाहा नभई घरमै बसेर शारीरिक अवस्था निकै कमजोर भएर आएकाको अस्पताल आएको एकै दिनमा मृत्यु हुने गरेको केन्द्रले जनायो । “उपचारका लागि ढिलाइ गर्दा परीक्षणपछि उपचार गर्न नपाउँदै मृत्यु भएको पाइयो”, केन्द्रका सदस्यसचिव डा झाले भने । उनका अनुसार जिल्लामा ‘कन्ट्याक्ट ट्रेसिङ’को दायरा बढाउन लागिएको छ । केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा १५८ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अघिल्लो दिन जिल्लामा ८२ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता हालसम्म कूल ७६८ सङ्क्रमितमध्ये बनेपा नगरपालिकामा ३०१, धुलिखेलमा १५८, पनौतीमा १५०, पाँचखालमा ६०, नमोबुद्धमा २८, मण्डनदेउपुरमा १९ तथा रोशी गाउँपालिकामा १५, चौँरीदेउरालीमा सात, तेमालमा छ र भुम्लुमा सात, खानीखोलामा दुई, बेथानचोकमा १२ र महाभारत गाउँपालिकामा तीन सक्रिय सङ्क्रमित रहेका छन् ।
जिल्लामा सबैभन्दा बढी बनेपामा ३९ दशमलव १९ प्रतिशत सङ्क्रमित रहेका छन् । केन्द्रका अनुसार सङ्क्रमितमध्ये ७४३ होमआइसोलेशन तथा २५ जना अस्पतालको आइसोलेशनमा उपचाररत छन् । हालसम्म जिल्लामा ५६ कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



