सबैको लघुवित्तको सीईओमा केशव पौडेल पुन: नियुक्त

-



     सफल आवाज    
     वैशाख २४ गते २०७८ मा प्रकाशित



तनहुँ, २४ वैशाख । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा केशवकुमार पौडेल पुन नियुक्त भएका छन् ।

शुक्रबार बसेको वित्तीय संस्थाको संचालक समितिको ८६ औ बैठकले २०७८ जेठ १ गतेबाट लागु हुने गरी थप ४ वर्ष (दोश्रो कार्यकाल) का लागि संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा पौडेललाई नियुक्ति गरेकाे हाे।

२०४९ सालमा निर्धन लघुवित्त वित्तीय संस्थावाट सेवा प्रवेश गरेका पौडेलसँग विभिन्न लघुवित्त वित्तीय संस्थाहरुमा विभिन्न पद हुँदै प्रमुख कार्यकारी अधिकृत पदमा रहेर कार्य गरेको अनुभव छ । २०७४ जेठ १ देखि सबैको लघुवित्त वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारी वहन गरेका पौडेलको यही वैशाख मसान्तसम्म मात्र कार्यअवधि थियो। उनको वित्तीय अनुभव र कार्यकुशलताको सम्मान गर्दै बोर्डले पुन: जिम्मेवारी प्रदान गरेको बताएको छ ।

तनहुँकाे गाउँपालिका वडा १ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था ०७४ बैशाख २५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई मिति २०७४ असार २५ मा नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तर कार्यक्षेत्रमा वित्तीय कारोवार सञ्चालन गर्न “घ” वर्गको इजाजतपत्र प्राप्त गरी साेही वर्षको असार ३० देखि विधिवत सञ्चालनमा आएको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो।

संस्थाले ७ वटै प्रदेशका ३७ जिल्लाहरुमा ६९ शाखा कार्यालय, ४ अनुगमन मुकाम र केन्द्रीय कार्यालय गरी ७४ वटा कार्यालयहरुको संजाल विस्तार गरेको छ। जसमा करिब ५० हजार घरधुरीमा सेवा विस्तार छ । संस्थाको लगानीमा रहेको कर्जा ३ अर्ब १४ करोड ६४ लाख र बचत ८१ करोड ८९ लाख छ।