पार्टीलाई मजबुद पार्दै अघि बढ्न एमाले अध्यक्ष ओलीको आग्रह

-



     सफल आवाज    
     वैशाख २६ गते २०७८ मा प्रकाशित



पोखरा, २६ वैशाख । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई मजबुद पार्दै अघि बढ्ने कार्यमा सरिक हुन सबैमा आग्रह गरेका छन् ।

सोमबार संसदमा विश्वासको मत लिन लागेका ओलीले सोको अघिल्लो दिन आइतबार विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् ।

उनले विज्ञप्तिमा भनेका छन् , ‘कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इश्र्या छन् । यस आन्दोलनलाई उनीहरुको स्वार्थपूर्तिको माध्यम वा त्यसको शिकार बनाउनु हुँदैन । आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीका स्वार्थलाई मलजल गर्न कतै फ्लोरक्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारी छाड्ने जस्ता हानीकार प्रयास भएका छन् । कुनै पनि तहमा पार्टीका सरकारलाई ढालीछाड्ने र विरोधीको दिग्विजय गराएर उत्सव मनाउनेजस्ता घातक र दुःखद प्रवृत्ति पनि आज देखा परेका छन् ।’

‘के यस्ता क्रियाकालपमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ? सोचौ भोलि हामी जनतालाई के जवाफ दिन्छौं ? तसर्थ यस्तो अपराध कर्ममा जानी नजानी कुने पनि हिसाबले संलग्न नहुन म पार्टी अध्यक्षको हैशियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु ।’ बिज्ञप्तीमा भनिएकाे छ ।