रिलायबल लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन २ अर्ब बढी

-



     सफल आवाज    
     वैशाख २९ गते २०७८ मा प्रकाशित



काठमाडौं, २९ वैशाख । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले यस आर्थिक वर्षको तेश्रो त्रैमाससम्म आउँदा २ अर्ब २७ करोड ७२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको देखिएको छ । कम्पनीका अनुसार यो आर्जन गएको वर्षको सोहि अवधिको भन्दा ८९.७ प्रतिशतले बढी हो ।

अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म कम्पनीले १ अर्ब २० करोड ४४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीले बीमालेख, धितोमा कर्जा लगानी, कर्जा तथा अन्य लगानी गरेर कुल करिब २७ करोड आम्दानी गरेको छ ।

यस वर्ष कम्पनीको आम्दानी २१.८१ प्रतिशतले बढेर २० करोड ३४ लाख पुगेको छ । अघिल्लो वर्ष यहि अवधिमा कम्पनीले १६ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

आइपीओ निष्काशन तयारी

यसैबीच, रिलायबल लाइफ इन्स्योरेन्सले ६० करोड बराबरको आइपीओ निष्काशन तयारी गरेको छ । १ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ निष्काशनपछि चुक्तापूँजी २ अर्ब पुग्ने भएको छ ।

कम्पनीका अनुसार जीवन बीमा कोषमा २ अर्ब ३७ करोड २१ लाख, जगेडामा ८२ करोड ३२ लाख, विपद कोषमा ७ करोड ७६ लाख रहेको छ । कम्पनीले अहिलेसम्म ३२ लाख ५ हजार ५३४ बीमालेख जारी गर्दा २ अर्ब ३२ करोड ३४ लाख रुपैयाँ कुल बीमाशुल्क कमाएको छ । कम्पनीले ४७ करोड ८९ लाख रुपैयाँ दाबि भुक्तानि गरेको जनाएको छ ।