एमाले स्थायी कमिटी बैठक जारी,चार नेतामाथिकाे कारबाही फिर्ता

- राष्ट्रपतिले दिएकाे समयसीमा सकिंदै

-



     सफल आवाज    
     वैशाख ३० गते २०७८ मा प्रकाशित



काठमाडौं, ३० वैशाख । नयाँ सरकार गठन, पार्टीभित्रको विवाद व्यवस्थापनलगायतका विषयमा छलफल गर्न नेकपा (एमाले) को स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।

बैठकले चार नेतामाथि गरेको कारबाही फिर्ता लिएको छ । स्थायी कमिटीको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिएकाे जनाएकाे छ ।

वैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्री एवं सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीका पक्षमा विश्वासको मत नपुगेपछि दुई वा दुई भन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनका लागि राष्ट्रपतिले बिहिबार राति ९ बजेसम्मका लागि समय दिएकी थिइन्।

एमालेभित्र असन्तुष्ट माधवकुमार नेपालसहितका २८ सांसद २७ गतेको उक्त बैठकमा अनुपस्थित भएपछि विवाद नयाँ मोडमा पुगेको थियाे।

नयाँ सरकार गठनमा विपक्षी गठबन्धनलाई मत सहयोग पुग्ने गरी नेपाल पक्षका सांसदले राजीनामा दिने तयारी गरेपछि एमाले शीर्ष नेतृत्व पार्टी एकताका लागि गम्भीर भएको हो। बैठकले लचकताका साथ प्रस्ताव ल्याएमा अध्यक्ष ओली र नेता नेपालबीच आजै भेटवार्ता हुने जनाइएको छ।