नेपाल लाइफकाे खुद बीमाशुल्क ३५.४९ प्रतिशतले बढ्यो

-



     सफल आवाज    
     वैशाख ३० गते २०७८ मा प्रकाशित



काठमाडौं, ३० वैशाख । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यस वर्षको तेश्रो त्रैमाससम्म आउँदा २४ अर्ब ९५ करोड ६० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको देखिएकाे छ । कम्पनीले गएको वर्षको सोहि अवधिको भन्दा ३५.४९ प्रतिशत बढी खुद बीमाशुल्क आर्जन गरेको हो ।

गएको वर्ष कम्पनीले १८ अर्ब ४१ करोड ८७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीका अनुसार पुनःबीमा कमिसन २ करोड ८७ लाख, लगानी कर्जा र अन्य आय ५ अर्ब ४८ करोड ८ लाख तथा बीमालेख धितोमा गरिएको कर्जा लगानीबाट १ अर्ब ४७ करोड ३३ लाख रुपैयाँ कमाएको छ ।

कम्पनीको यस अवधिमा खुद नाफा ८.३६ प्रतिशतले बढेको छ । यसरी बढेको नाफा ५० करोड ६६ लाख रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीले तेश्रो त्रैमाससम्म ४६ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको चुक्ता पूँजी ७ अर्ब १९ करोड ९९ लाख, जगेडा कोषमा १ अर्ब १२ करोड ३४ लाख, जीवन बीमा कोषमा १ खर्ब ७ अर्ब ६१ करोड तथा विपद व्यवस्थापन कोषमा ५९ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले तेश्रो त्रैमाससम्म आउँदा १३ लाख ७० हजार १३६ बीमालेख रहेको जनाएको छ । यसबाट कम्पनीले २५ अर्ब ३७ करोड ४८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । साथै कम्पनीले यहि अवधिमा ७ अर्ब १४ करोड ७१ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । बुझाउन बाँकी रहेको दाबी भुक्तानी रकम १ अर्ब ४६ करोड ५८ लाख रहेको छ ।