संविधान जोगाउने दुई सूत्र- ‘राष्ट्रपतिलाई आजै महाअभियोग र वैकल्पिक सरकार’

- के होला ओलीको नयाँ 'मूभ' ?

-



     सफल आवाज    
     जेठ ७ गते २०७८ मा प्रकाशित



काठमाडौं, ७ जेठ। प्रधानमन्त्री पद रिक्त नहुँदै बिहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि आह्वान गरेपछि संविधानविद्ले यसलाई गैरसंवैधानिक कदम भनेका छन्। प्रधानमन्त्री केपी ओलीको अनुरोधमा राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्तिको प्रयोजनका लागि २१ घण्टाको समय दिएपछि संविधानविद्को यो धारणा आएको हो।

प्रधानमन्त्री र राष्ट्रपतिको यो प्रक्रिया नै गलत भएको संविधानविद्को ठहर छ। संविधानविद्ले राष्ट्रपति र प्रधानमन्त्री असंवैधानिक प्रक्रियामा अगाडि बढ्दा मुलुक नै दुर्घटनातर्फ गएको बताएका हुन्। यसले भोलिका दिनमा राष्ट्रपतिले संकटकाल घोषणा गरेर नागरिकका अधिकार नियन्त्रण र निलम्बन हुने खतरा बढेको उनीहरुको भनाइ छ।‘आज राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध सांसद र दलहरुले कुनै खालको करेक्सन गर्न सकेनन् भने सम्भवत राष्ट्रपति र प्रधानमन्त्रीले भोलिका दिनमा संकटकाल घोषणा गर्न सक्छन्। त्यसपछि नागरिक अधिकारहरु नियन्त्रित र निलम्बित हुन सक्छन् नत्र मुलुक अर्कै कोर्समा जाने खतरा हुनसक्छ’, संविधानविद् डा. भीमार्जुन आचार्य भन्छन्।

राष्ट्रपति र प्रधानमन्त्रीको कदम नियोजित भएको भन्दै संविधानविद् आचार्यसँगै चन्द्रकान्त ज्ञवाली, वरिष्ठ अधिवक्ता शम्भु थापा, पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठलगायतले आपत्ति जनाएका छन्। संविधानविद् आचार्यले देशलाई भद्रगोल, अराजकता, मारपिट र काटमारमा लैजाने नियतबाट यो काम भएको आशंकासमेत व्यक्त गरेका छन्।

‘यो राष्ट्रपति र प्रधानमन्त्रीले राम्रो नियतले चालेको कदम हुँदै होइन। संविधानमा केही कमिकमजोरी छन्, व्यवस्थामा केही कमिकमजोरी छन्। त्यसलाई विधिसम्वत् ढंगले सुधार्न सकिन्छ। अहिलेको यो एकदमै एकलौटी नियत हो। थाहा छैन के योजनाले काम गरेका छन् ’, आचार्य भन्छन्, ‘देशलाई भद्रगोल, अराजकता, मारपिट र काटमारमा लैजाने नियतबाट यो सबै काम भएजस्तो लाग्छ।’

संविधान जोगाउने सूत्र
यो असंवैधानिक कदमबाट मुलुकलाई जोगाउन र कोर्स करेक्सन गर्नका निम्ति संविधानविद् आचार्यले दुई विकल्प दिएका छन्। पहिलो विकल्प भनेको राष्ट्रपतिविरुद्ध महाअभियोग दर्ता गर्नु हो। दोस्रो विकल्प प्रधानमन्त्रीलाई हटाउने हो। पहिलो विकल्पमा मात्र दलहरु एकजुट भए मुलुकमा क्षति कम हुने उनको भनाइ छ। दोस्रो विकल्पका लागि वैकल्पिक सरकार गठनका लागि दलहरु तत्पर हुनुपर्नेमा उनको जोड छ।

डा. भीमार्जुन आचार्य

‘अब आज एक दिन समय छ। तर, यो छोटो समयमा पनि राष्ट्रपति विरुद्ध महाअभियोग दर्ता गर्न सकिन्छ। त्यत्ति मात्र भएमा मुलुकमा क्षति कम हुन्छ’, आचार्य थप्छन्, ‘दोस्रो नम्बरमा प्रधानमन्त्रीलाई हटाउन सक्नुपर्यो अथवा वैकल्पिक सरकार गठनको लागि तत्पर हुनुपर्छ।’प्रधानमन्त्री हटाउन नसके पनि राष्ट्रपतिलाई पदबिहीन बनाउँदा मुलुक ठूलो क्षतिबाट बच्न सक्ने तर यो असम्भव भए सम्पूर्ण राजनीतिक दल र नागरिकले संकट भोग्नुपर्ने उनको भनाइ छ। ‘सबैभन्दा पहिलो काम राष्ट्रपतिलाई पद विहीन बनायो भने मुलुक ठूलो क्षति बेहोर्नबाट बच्छ’, आचार्य थप्छन्, ‘यो कदम चाल्न दलहरु असफल भए सम्पूर्ण राजनीतिक दल र नागरिकले संकट भोग्नुपर्ने देखिन्छ।’

के होला अन्य दल र ओलीको ‘मूभ’ ?

बिहीबार राति राष्ट्रपतिले प्रधानमन्त्रीका लागि आह्वान गरेपछि शुक्रबार बिहानैदेखि राजनीतिक दलको छलफल तीव्र बनेको छ। विपक्षी दल ओलीविरुद्धको वैकल्पिक सरकार गठनको प्रयासमा सक्रिय छन्। विपक्षी दलले जनता समाजवादी पार्टी (जसपा) अगाडि बढे सरकारमा दाबी गर्नेछन्।

जसपा आफ्नो नेतृत्वमा सरकार गठन गर्न दलहरु तयार भए विपक्षी गठबन्धन बनाउन तयार रहेको छ। यद्यपि अध्यक्ष महन्थ ठाकुरका गतिविधि बालुवाटार र शीतल निवास केन्द्रित हुँदा विपक्षी दलले उनलाई विश्वास गर्ने आधार बनिसेको छैन।

केही दिनअघि ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय सहमति भए सरकारको नेतृत्वका लागि पार्टी तयार रहेको संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै बताएका थिए। पूर्वप्रधानमन्त्रीसमेत रहेका जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वैकल्पिक सरकार दिनुपर्नेमा जोड दिएका छन्। बिहीबार रातिसम्म बालुवाटारमा रहेका र राति नै शीतल निवाससम्म पुगेका ठाकुर भने यो विषयमा मौन छन्। जसपा संसदीय दलको बैठक भने बिहान ११ बजेपछि बस्नेगरी बैठक बोलाइएको हो।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रले वैकल्पिक सरकार बन्ने भए जसपा नेतृत्व स्वीकार गर्ने तयारी गरेका छन्। दुवै दलले वैकल्पिक सरकारको विषयमा छलफलका लागि पदाधिकारी बैठक राखेका छन्। ओलीको असंवैधानिक कदमविरुद्ध विपक्षी एकजुट भए वैकल्पिक सरकार बन्ने सम्भावना छ। जसपा ठाकुर समूहले विपक्षी गठबन्धनलाई साथ नदिए त्यो असम्भव देखिन्छ।

फेरि संसद विघटनको शंका !

सबैले आवश्यक त्याग र बलिदान गरेर लौरो उभ्याएर भए पनि वैकल्पिक सरकार दिनुपर्नेमा बाबुराको जोड छ। ‘संसद, संविधान, लोकतन्त्रको रक्षा आजको अहं प्रश्न हो ! जे गरेर रक्षा हुन्छ त्यही गरौं। सबैले आवश्यक त्याग-बलिदान गरौं’, बाबुरामले ट्वीटरमा लेखेका छन्, ‘लौरो उभ्याएर भए पनि ७६ (५) को वैकल्पिक सरकार दिऊॅ। आजै गरौं, अहिल्यै गरौं। बिपी-पिएलदेखि हाम्रो पुस्तासम्मले लडेर ल्याएको संविधान-लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्नेछ।’

संविधानको धारा ७६ (३) अनुसार ठूलो दलको नेताको हैसियतले अल्पमतको प्रधानमन्‍त्री बनेका ओलीले संसद्‍बाट विश्वासको मत नलिँदै उनकै सिफारिसमा राष्ट्रपति भण्डारीले ७६ (५) अनुसार नयाँ सरकार बनाउन २१ घन्टे म्याद दिएपछि ओलीमाथि पुनः शंका गर्न थालिएको छ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले फेरि संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको टिप्पणी गरेका छन्। नयाँ सरकार गठनका लागि २४ घण्टाको पनि समय नदिनु संसद् विघटन गर्दै संविधान फाल्ने षड्यन्त्र भएको उनको भनाइ छ।

रामचन्द्र पौडेल

पौडेलले संविधानको धारा ७६ (३) अनुसार नियुक्त भएको प्रधानमन्त्रीले विश्वासको मत मागेर नपाएको वा प्रधानमन्त्रीले राजीनामा दिएको अवस्थामा मात्र संविधानको धारा ७६ को उपधारा (५) बमोजिम नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था हुँदाहुँदै असंवैधानिक ढंगले राष्ट्रपति अगाडि बढेको भन्दै यस्तो बताएका हुन्।

‘राष्ट्रपतिले धारा ७६ को उपधारा (५) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्नु असंवैधानिक हो’, पौडेलले भने, ‘नयाँ सरकार गठनका लागि राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिनु भनेको संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र हो।’

नेता पौडेलले यो अवस्थामा नेपाली जनताले ७० वर्षको त्यागबाट बनेको संविधान जोगाउने प्रयास गर्नुपर्नेमा जोड दिएका छन्। कांग्रेसलेसमेत राष्ट्रपति र प्रधानमन्त्रीको यो कदमलाई संविधान फाल्ने षड्यन्त्रको रुपमा हेरेको छ। अन्तिम समयसम्म आफ्ना योजना लुकाउने र अप्रत्यासित ढंगले निर्णय लिने ओली कुन ढंगले अगाडि बढ्छन् भनेर अनुमान गर्न कठिन छ। यद्यपि ओलीले पुनः बहुमत देखाएर आफू प्रधानमन्त्री बन्ने अर्थात् संसद् विघटन गरेर राष्ट्रपतिले ६ महिनाभित्र यही सरकारले चुनाव गर्ने घोषणा गर्ने अनुमान भने गरिएको छ। यसको छिनोफानो शुक्रबार साँझ ५ बजेसम्ममा भइसक्ने छ।