ओली र देउवामा को बन्ला प्रधानमन्त्री ?

-



     सफल आवाज    
     जेठ ७ गते २०७८ मा प्रकाशित



काठमाडौं, ७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीका लागि दाबी गर्न दिएको समय शुक्रबार साँझ ५ बजेदेखि सकिएको छ ।

सो अवधिभित्र नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दावी पेश गरेका छन् । अब को प्रधानमन्त्री बन्छ भन्ने निकै रोचक विषय बनेको छ ।

ओलीले आफूलाई १ सय ५३ जना सांसदको समर्थन रहेको दाबी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।

विपक्षी गठबन्धन शीतल निवास पुग्नु अगावै ओलीले एमालेका १ सय २१ र जनता समाजवादी पार्टी (जसपा) का ३२ सहित १ सय ५३ सांसदको समर्थन आफूलाई रहेको दाबी पेस गरेका हुन् ।

उता, १ सय ४९ सांसदको हस्ताक्षरसहित कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने दाबी सहित विपक्षी गठबन्धनले हस्ताक्षर बुझाएको छ । देउवाले माओवादी, उपेन्द्र यादव पक्ष र माधव नेपाल समूहका सांसद सहित १ सय ४९ जनाको दाबी पेश गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले २१ घण्टाको समयावधि दिँदै संविधानको धारा ७६ (५) बमोजिम बिहीबार दलहरुलाई सरकार गठनको आह्वान गरेकी थिइन्।