जावलाखेल ग्रुपबाट कोभिड प्रभावितलाई २ करोड सहयोग

- समुदायलाई आवश्यक पर्दा सहयोग गर्नु मानवीय धर्म हाे - अध्यक्ष शाह

-



     सफल आवाज    
     जेठ ७ गते २०७८ मा प्रकाशित



काठमाडाैं, ७ जेठ । जावलाखेल ग्रुप अफ ईण्डष्ट्रिजले कोभिड प्रभावितलाई २ करोड सहयोग गरेकाे छ । सामूदायिक अस्पतालको स्वास्थ्य सेवालाई विस्तार गर्न तथा देशका विभिन्न प्रदेशमा स्थानिय सामूदायिक संस्थाको अग्रसरतामा कोभिडबाट प्रभावित समुहलाई आवश्यक पर्ने अक्सिजन, भेन्टिलेटर, आई.सी.यु. लगायत अन्य स्वास्थ्य सामाग्री खरिदको लागि पछिल्लो दुई हप्तामा २ करोडको प्रत्यक्ष सहयोग गरेको हाे।

कंपनीले अक्सिजन प्लान्ट र आई.सि.यु. विस्तारका लागि धुलिखेल अस्पताललाई १ करोड ३५ लाखको सहयोग गरेको छ । त्यस्तै नेपालको विभिन्न प्रदेशहरुमा सामुदायिक समुहको प्रयासको लागि सहयोग स्वरुप ७५ लाख प्रदान गरेको जनाएको छ ।

साथमा नेपाल भेन्टिलेटर सर्भिसलाई भेन्टिलेटर खरिद गर्न सहयोग , विरगंज महानगरपालिका मार्फत विरगंज, पर्सामा अस्थायी कोभिड अस्पताल संचालनको लागि सहयोग, ललितपुर महानगरपालिका र ज्यापु समाजको सहयोगमा ललितपुरका रोटरी क्लबहरु मार्फत संचालित आईसोलेसन सेन्टरका लागि उपकरण र सामाग्री खरिदमा सहयोग गरेको छ ।

विराटनगर, मोरङमा अक्सिजन सहितको आईसोलेसन सेन्टर संचालनको लागि रोटरी क्लब अफ विराटनगर युनिक लाई सहयोग, रोटरी क्लब अफ विर्तामोडलाई झापामा अक्सिजन बैंक संचालन गर्न सहयोग गरेको छ ।

जावलाखेल ग्रुप अफ ईण्डष्ट्रिजका अध्यक्ष विजय कुमार शाहले समुदायलाई आवश्यक परेको बेला सहयोग गर्नु मानव धर्म रहेको बताउँछन । शाह नेपालको सबैभन्दा बढी कर तिर्ने ब्यक्तिगत करदाता पनि हुन ।

जावलाखेल ग्रुप अफ ईण्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशिन जोशीले अहिलेको यो कठीन समयमा एक सच्चा कर्पोरेट नागरिकको हैसियतले ब्यापारिक घरानाहरुले कुनैपनि अपेक्षा नराखी स्वच्छ रुपले सहयोगी भावनाकाे विकाश गर्नुपर्नेमा जोड दिए ।

कर्पोरेट सेक्टर पनि यहि समुदायको एक अभिन्न हिस्सा भएको र जसको अस्तित्व समुदायको हित संग निर्भर गर्दछ । यो समय सरकारले सिमित श्रोत र साधनबाट गरेको प्रयास प्रति हामीले सहयोग र समर्थन गर्ने पनि हो ,उनले भने ।