२८२० विन्दु चुम्दै नेप्सेमा नयाँ रेकर्ड, ११ अर्ब ६९ करोड बढीको कारोबार

-



     सफल आवाज    
     जेठ ९ गते २०७८ मा प्रकाशित



काठमाडौं, ९ जेठ । राजनीतिक घटनाक्रम र कोरोनाको कारण जारी निषेधाज्ञाबीच शेयर बजारमा फेरी नयाँ रेकर्ड कायम भएको छ । आज शेयर बजार बन्द हुँदासम्मको विन्दुलाई हेर्ने हो भने अहिलेसम्मकै उच्च विन्दु कायम भएको छ । नेप्से परिसूचक आज ३२.८१ अंकले बढेर २८२०‍‍.०० विन्दुमा उक्लिएको छ ।

२८२०.०० विन्दुमा पुग्नु, आफ्नै यसअघिका रकेर्डलाई ब्रेक गर्दै नयाँ नतिजा निकाल्नु भनेको शेयर बजारमा थपिएकाे उत्साह तथा लगानीकर्ताहरुको रफ्तारको लगानीको कारणले पनि हो । नेप्से आज १.१८ प्रतिशतले बढ्दा सेन्सेटिभ इण्डेक्स ८.२३ अंकले बढेर ५०७.२० विन्दुमा पुगेको छ । यसअघि नेप्से जेठ ४ गते २७९३.८९ विन्दुमा, जेठ ५ गते २७८०.८१ विन्दुमा पुगेर नयाँ रेकर्ड बनाएको थियो ।

आज २२० कम्पनीको शेयर कारोबार भएको छ । आज २ करोड ५१ लाख ६३ हजार ६६० कित्ता शेयरको खरिदबिक्री भएको छ । यसबाट ११ अर्ब ६९ करोड ५० लाख ३४ हजार ७२८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका १३ उपसमूहमध्ये ३ बाहेक बाँकी १० वटै उपसमूहमा हरियाली छाएको छ अर्थात उनीहरु सबैको शेयर बढेको छ ।

आज होटल तथा पर्यटन, नीर्जिवन बीमा र माईक्रोफाइनान्स उपसमूहमा रातो लागेको छ अर्थात यी तीनवटै उपसमूहको शेयर घटेको छ ।

हरियाली छाएका तथा शेयर बढेका १० उपसमूहरुमा बैंकिङ, व्यापार, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, उत्पादन, अन्य, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूह रहेका छन् ।

आज पनि कारोबारमा सबैभन्दा अगाडी आउनेमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेड नै रहेको छ । कम्पनीको ४१ करोड ८६ लाख ४४ हजार ७४३ रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लाे र त्यसअघिकाे हप्ताका अधिक दिनमा पनि नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले काराेबारमा अग्रता कायम गरेकाे थियाे ।