
काठमाडौं, १० जेठ । शुक्रबार (जेठ ७ गते) मध्यरातमा प्रतिनिधिसभा विघटन नभएको भए आइतबार (हिजो जेठ ९ गते) बाट संसदको बजेट अधिवेशन सुरु भइसक्थ्यो। संवैधानिक व्यवस्था अनुसार अर्थमन्त्री विष्णु पौडेलले तामझाम र सानका साथ जेठ १५ गते संघीय संसदको दुवै सदनको बैठकमा २०७८⁄८९ को बजेट भाषण गर्ने थिए। तर, जेठ ८ गते संविधानको धारा ७६ (५) अनुसार शेरबहादुर देउवा र केपी ओलीले प्रधानमन्त्रीका लागि पेश गरेको दाबीमा प्रतिनिधिसभा सदस्यको हस्ताक्षर दोहोरिएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीबाट अस्वीकृत भएपछि शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटन भएको छ।
प्रतिनिधिसभा विघटनले बजेट अधिवेशनको बाटो मात्र बन्द भएको छैन सरकारमाथि २०७८/८९ को बजेट ल्यउन संवैधानिक र कानुनी अड्चनसमेत थपिएको छ। यसले अर्थमन्त्री पौडेलले कसरी बजेट भाषण गर्छन् भन्ने चासो बढेको छ।
बजेट भाषणको संवैधानिक अड्चन
संसद नहुँदा बजेट ल्याउने कुरा संविधानले परिकल्पना गरेको छैन। संविधानको धारा ११९ मा अर्थमन्त्रीले राजस्व र व्ययको अनुमान प्रस्तुत गर्ने उल्लेख गरिएको छ। धारा ११९ को उपधारा (३) मा नेपाल सरकारको अर्थमन्त्रीले उपधारा (१) बमोजिमको राजश्व र व्ययको अनुमान प्रत्येक वर्ष जेठ महिनाको १५ गते संघीय संसदमा पेश गर्नेछ भनेर प्रष्टसँग भनिएको छ।
धारा ११९ का विभिन्न उपधारामा राजश्वको अनुमान, संघीय सञ्चित कोषमाथि व्ययभार हुने आवश्यक रकम, संघीय विनियोजन ऐन बमोजिम व्यय हुने आवश्यक रकम, अघिल्लो आर्थिक वर्षमा प्रत्येक मन्त्रालयलाई छुट्याइएको खर्चको रकम र त्यसको खर्च अनुसार लक्ष्य हासिल भयो वा भएन त्यसको विवरणसमेत साथमै पेश गर्नुपर्ने उल्लेख छ।

बजेट भाषणका लागि कानुनी अड्चनसँगै करका दरहरु निर्धारणसमेत संसदले गर्ने हुँदा सरकार अप्ठेरोमा पर्ने देखिएको छ। राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्दै कात्तिक २७ र मंसिर ३ गतेका लागि दुई चरणमा चुनाव हुने घोषणा गरिसकेकाले सरकारले बजेटमा नयाँ कार्यक्रम ल्याउन पाउँदैन। यसले सरकारले कस्तो बजेट कसरी ल्याउँछ भन्ने प्रश्न उठाएको छ।
कसरी आउँछ त बजेट ?
संघीय संसदको दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्ने प्रावधान संविधानको धारा ११४ (१)मा उल्लेख गरिएको छ।
केपी ओली सरकारले संसदलाई छलेर पटकपटक अध्यादेश ल्याइसकेकाले बजेट ल्याउनसमेत यो सरकारले अध्यादेशको बाटो अपनाउने प्रष्ट छ। संसद् विघटन भइसकेको अवस्थामा सरकारसँग यसको विकल्प पनि देखिँदैन। प्रधानमन्त्री ओलीले अध्यादेशमार्फत् बजेट ल्याउने तयारी गरिसकेका छन्।

आइतबार बालुवाटारमा आयोजित पत्रकारसँगको अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री ओलीले यो खुलासासमेत गरिसकेका छन्। ओलीले देशको अर्थतन्त्रप्रति जिम्मेवार भएर बजेट ल्याउने दाबी गरे। उनले बजेटको ठूलो हिस्सा कोरोना रोकथाममा केन्द्रित हुनेसमेत प्रष्ट पारेका छन्। ‘जिम्मेवार ढंगले बजेट पेश गछौँ। यसअघि घोषणा गरेका कार्यक्रम बजेटले समावेश गर्नेछ’, विकासका कार्यक्रमले महत्व पाए पनि ठूलो महत्वकांक्षी बजेट आउँदैन। बजेटको ठूलो हिस्सा कोरोना रोकथाममा केन्द्रित हुनेछ।’
के छ अर्थ मन्त्रालयको तयारी ?
अर्थमन्त्री पौडेलले कोभिड–१९ को सामना गर्ने गरी आगामी वर्षको बजेट आउने बताएका छन्। बजेट तयारी अन्तिम चरणमा रहेको र कोरोना महामारीले प्रभावित अर्थतन्त्रलाई पुर्नउत्थान र गतिशिल बनाउने संकल्पका साथ बजेट ल्याउने उनको भनाइ छ। ‘कोभिड–१९ लाई रोकथाम तथा नियन्त्रण गर्न सम्पूर्ण शक्ति, स्रोत र सामथ्र्य परिचालन गर्ने गरी बजेट आउँछ’, पौडेलले केही दिनअघि भनेका छन्, ‘अहिलेको पहिलो प्राथमिकता कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउनु नै हो।’ प्रतिनिधिसभा विघटन भएर चुनावको घोषणा भइसकेकाले बजेट चुनाव केन्द्रित हुनेसमेत देखिएको छ। अर्थ मन्त्रालय स्रोतका अनुसार कोभिड, निर्वाचन, आर्थिक पुनस्र्थापना, रोजगारी सिर्जना, ठूला परियोजना अगाडि बढाउने र नियमित कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेटको तयारी पूरा भएको छ।

नयाँ आर्थिक वर्षका लागि बजेट बनाउन अर्थ मन्त्रालयले बनाएको पाँच सदस्यीय कमिटीले काम सकिसकेको छ। अर्थ मन्त्रालय अन्तर्गत आर्थिक नीति विश्लेषण महाशाखाका सहसचिव रामप्रसाद घिमिरे, प्रशासन महाशाखाका सहसचिव सुमन दाहाल, बजेट तथा कार्यक्रम महाशाखाका सहसचिव धनीराम शर्मा, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वयन महाशाखाका सहसचिव श्रीकृष्ण नेपाल र राजश्व व्यवस्थापन महाशाखाका सहसचिव रामेश्वर दंगाल सहभागी रहेको कमिटी बनाएर अर्थमन्त्री पौडेलले बजेटको तयारी पूरा गरेका हुन्।
चुनाव घोषणा भइसकेको अवस्थामा सरकारले नयाँ कार्यक्रम ल्याउन नपाउने हुँदा पुराना कार्यक्रमले नै निरन्तरता पाउने देखिन्छ। यसरी पुराना कार्यक्रमलाई मात्र निरन्तरता दिँदा सरकारको आलोचना हुने भएकाले केही नयाँ घोषणासमेत बजेटमा समावेश हुने अर्थ मन्त्रालय स्रोतको दाबी छ।
अर्थमन्त्री पौडेलले जेठ १५ गते सार्वजनिक कार्यक्रम वा विशेष पत्रकार सम्मेलन गरेर बजेट ल्याउने गरी तयारी गरेका छन्। ‘बजेट जेठ १५ गते नै आउँछ’, अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘सरकारले आयोजना गर्ने सार्वजनिक कार्यक्रम वा विशेष पत्रकार सम्मेलनमार्फत् अर्थमन्त्रीले बजेट भाषण गर्नुहुन्छ।’






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



