चक्रवातले भारतमा चारको मृत्यु : तीन लाख घरमा क्षति, लाखौं प्रभावित

-



     सफल आवाज    
     जेठ १३ गते २०७८ मा प्रकाशित



चक्रवात ‘यास’ का कारणमा भारतमा चार जनाको मृत्यु भएको छ । ओडिशामा तीन र पश्चिम बंगालमा एक गरी चार जनाको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन् ।

यस्तै कियोंझर र बालासोरमा दुई जनाको रुखबाट लडेर मृत्यु भएको स्थानीय संचार माध्यमले जनाए पनि यसको आधिकारिक पुष्टि भने हुन बाँकी छ ।

यसैगरी मयूरभंज जिल्लामा एक घर भत्किँदा एक वृद्धाको ज्यान गएको छ । बंगालको खाडीमा बनेको चक्रवात यासको असरले भारी वर्षासँगै आएको हावाहुरीमा परेर उनीहरुको मृत्यु भएको खबरमा उल्लेख छ ।

आँधीका कारण ओडिशा र पश्चिम बंगाल राज्य प्रभावित भएका छन् । ओडिशाको बालासोर, भद्रक, जगतसिंहपुर र केन्द्रपाडा प्रभावित भएका छन् भने पश्चिम बंगालको दक्षिणी र उत्तरी २४ परगना, दिगहा, पूर्वी मिदनापुर र नन्दीग्राममा असर परेको छ ।

कोलकत्ताको १३ निचले इलाकामा बाढी पसेको छ । ओडिशाले आफ्ना ५ लाख र पश्चिम बंगालले १५ लाख बढी नागरिकलाई सुरक्षित स्थानमा पठाएको जनाएको छ ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले चक्रवातका कारण राज्यमा तीन लाख भन्दा धेरै घरमा क्षति पुगेको र यसबाट एक करोड मानिस प्रभावित भएका बताइन् । प्रभावित क्षेत्रमा शुक्रबार आफु जान लागेको पनि उनले जानकारी दिइन् ।

प्रभावित क्षेत्रमा १० करोड रुपैयाँको राहत सामग्री पठाइएको उनको भनाइ छ । चक्रवातको प्रभावले रेल र हवाई यातायातमा पनि असर गरेको छ ।