
काठमाडौं, १३ जेठ । कामचलाउ सरकारले मतदाता प्रभाव पार्नेगरी बजेटमा नयाँ नीति तथा कार्यक्रम ल्याउन नमिल्ने पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले ठहर गरेका छन्। बिहीबार संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै पाँच पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले यस्तो बताएका हुन्।
संयुक्त विज्ञप्तिमा पूर्वप्रमुख आयुक्तले ‘मतदाता प्रभावित बजेट’ नल्याउन सरकारलाई सुझाव दिएका छन्।
कात्तिक र मंसिरमा प्रस्तावित प्रतिनिधिसभा निर्वाचन गराउने भूमिकामा रहेको कामचलाउ सरकारले मतदाता प्रभावित गर्ने गरी बजेट ल्यउनु नहुनेमा उनीहरुको जोड छ। त्यस्तो बजेट आएमा समान प्रतिस्पर्धा, स्वच्छ र स्वतन्त्र निर्वाचन प्रभावित हुनसक्ने भन्दै उनीहरुले सचेत गराएका हुन्।
पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधिप्रसाद यादव र दोलखबहादुर गुरुङले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै सरकारलाई यस्तो सुझाव दिएका हुन्। विज्ञप्तिमा यस विषयमा आफ्नो संवैधानिक दायित्वलाई ख्याल गर्दै निर्वाचन आयोगले सम्बन्धित पक्षलाई सजग गराउने विश्वाससमेत व्यक्त गरिएको छ।
‘२०७८ कात्तिक, मंसीरमा प्रस्तावित प्रतिनिधिसभाको निर्वाचन गराउने भूमिकामा रहेको वर्तमान कामचलाउ सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउदा स्वच्छ, स्वतन्त्र एवम् निष्पक्ष निर्वाचनकालागि समान प्रतिस्पर्धाको सिद्धान्त भित्र रही मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्नेगरी लक्षित कुनै किसिमका नयाँ नीति कार्यक्रम वा बजेट बिनियोजन नगर्न सरकारको ध्यानाकर्षण गर्दछौं’, संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘साथै, यस विषयमा आफ्नो संवैधानिक दायित्वको ख्यालगरी निर्वाचन आयोगले सम्बद्ध पक्षलाई समयमै सजग गराउनेछ भन्ने हामीले विश्वास लिएका छौं।’
जेठ ८ गते संविधानको धारा ७६ (५) अनुसार शेरबहादुर देउवा र केपी ओलीले प्रधानमन्त्रीका लागि पेश गरेको दाबीमा प्रतिनिधिसभा सदस्यको हस्ताक्षर दोहोरिएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकृत गरेपछि शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटन भएको छ।
महामारीबीच सरकारको सिफारिसमा राष्ट्रपतिले संविधान छल्दै प्रतिनिधि सभा भंग गरेर २०७८ कात्तिक र मंसिरमा मध्यावधि चुनावको मिति घोषणा गरेकी छन्।
प्रतिनिधिसभा विघटनले बजेट अधिवेशनको बाटो मात्र बन्द भएको छैन सरकारमाथि २०७८/८९ को बजेट ल्यउन संवैधानिक र कानुनी अड्चनसमेत थपिएको छ। यही समयमा पूर्वनिर्वाचन आयुक्तले बजेटको विषयमा धारणा सार्वजनिक गरेका हुन्। बजेट जेठ १५ गते ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।
संविधानको धारा ११९ मा अर्थमन्त्रीले राजस्व र व्ययको अनुमान प्रस्तुत गर्ने उल्लेख गरिएको छ। धारा ११९ को उपधारा (३) मा नेपाल सरकारको अर्थमन्त्रीले उपधारा (१) बमोजिमको राजश्व र व्ययको अनुमान प्रत्येक वर्ष जेठ महिनाको १५ गते संघीय संसदमा पेश गर्नेछ भनेर प्रष्टसँग भनिएको छ।
प्रतिनिधिसभा भंग भइसकेकाले अर्थमन्त्री विष्णु पौडेलले कस्तो बजेट कसरी ल्याउँछन् भन्ने चासो बढेको छ। सरकारले अध्यादेशमार्फत् बजेट ल्याउने तयारी गर्दै गर्दा पूर्वअर्थमन्त्री र कानुनविद्ले यो असंवैधानिक बाटो भएको टिप्पणी गर्दै आएका छन्।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



