अध्यादेशबाट बजेट ल्याउन मन्त्रिपरिषद् बैठक बस्दै

-



     सफल आवाज    
     जेठ १५ गते २०७८ मा प्रकाशित



काठमाडौं, १५ जेठ। मन्त्रिपरिषद् बैठक आज बस्दैछ। प्रतिनिधिसभा विघटन भइसकेकाले अध्यादेशमार्फत् बजेट ल्याउन लागेको सरकारले आर्थिक वर्ष २०७८/८९को बजेट सार्वजनिक गर्नुअघि मन्त्रिपरिषद् बैठक बोलाएको हो।

बजेटका सबै दस्तावेजलाई अन्तिम रुप दिइसकेकाले बिहान ११ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठकमा पेस गर्ने तयारी छ।

मन्त्रिपरिषद् बैठकले अध्यादेशका रूपमा बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिस गर्नेछ। राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि दिउँसो ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्ने तयारी छ।

अर्थमन्त्री पौडेलले सिंहदरबारबाट यस वर्षको बजेट भाषण गर्नेछन्। नयाँ संविधान जारी भएपछि अर्थमन्त्री पौडेलले पहिलो पटक अध्यादेशमार्फत् बजेट ल्याउन लागेका हुन्।

कामचलाउ सरकारले ल्याउन लागेको बजेटमा नयाँ कार्यक्रम समावेश नगरी पुरानालाई निरन्तरता दिनुपर्नेमा विज्ञले जोड दिएका छन्। सरकारले भने महामारी नियन्त्रण र चुनावी कार्यक्रमलाई केन्द्रित गरेर बजेट तयार पारेको छ। अर्थमन्त्री पौडेलले कोभिड-१९ को सामना गर्ने र चुनाव केन्द्रित बजेट आउने बताएका छन्। कोरोना महामारीले प्रभावित अर्थतन्त्रलाई पुर्नउत्थान र गतिशिल बनाउने संकल्पका साथ बजेट ल्याउने उनको भनाइ छ।

अर्थ मन्त्रालय स्रोतका अनुसार कोभिड, निर्वाचन, आर्थिक पुनस्र्थापना, रोजगारी सिर्जना, ठूला परियोजना अगाडि बढाउने र नियमित कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट तयार भएको हो।

बजेटमा प्रधानमन्त्री केपी ओलीको चाहना अनुसार सामाजिक सुरक्षा भत्ता बढ्ने अनुमान गरिएको छ। सबैलाई रिझाउने प्रयास गर्दा बजेटको आकार भने बढ्ने बताइएको छ।

यस वर्ष करिब १६ खर्बको बजेट ल्याउने सरकारको तयारी रहेको छ।