काठमाडौं उपत्यकामा पसल खुल्ने गरी निषेधाज्ञा थपिने

-



     सफल आवाज    
     जेठ १८ गते २०७८ मा प्रकाशित



काठमाडौं, १८ जेठ । काठमाडौँ उपत्यकामा केही खुकुलो गर्दै पुनः एक हप्ता निषेधाज्ञा थपिने भएको छ ।

कोभिड¬१९ सङ्क्रमण नियन्त्रणका लागि उपत्यकामा जेठ १४ देखि २० गते राति १२ बजेसम्मका लागि थप कडाइ गर्दै निषेधको आदेश थप गरिएको थियो ।

उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीको मंगलबारको बैठकले १४ गते अघिको स्थितिमा कायम रहने गरी २० गतेदेखि थप एक साता निषेधाज्ञा लम्ब्याउने निष्कर्ष निकालेको हो । बुधबार बैठक बसेर उक्त निर्णय गरिने भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईले बताए।

उनका अनुसार खाद्यान्न, किराना पसल, ग्रोसरी तथा डिपार्टमेन्टल स्टोर्सलाई बिहान ९ बजेसम्म सञ्चालन गर्न दिइने, विकास निर्माणका काम आवासीय रुपमा स्वास्थ्य मापदण्ड अपनाएर गर्न दिइने, निर्माणका सामान ढुवानीलाई निश्चित समय तोकेर सवारी साधनमा ओसारपसार गर्न दिइनेलगायतका निर्णय हुने छन् । यही १४ गते थपिएको आदेशमा भने यी सबै गतिविधिमा रोक लगाइएको थियो ।

आदेशका अन्य प्रावधान भने यथावत रहने जनाइएको छ । जस अनुसार अत्यावश्यकबाहेकका गतिविधिमा रोक लगाइएको छ ।

उपत्यकामा वैशाख १६ गतेदेखि लागू हुने गरी आदेश जारी गरिएको थियो । एक महिना वित्दा पनि कोरोना सङ्क्रमण आशातित रुपमा घट्न सकेको छैन।