चीनको सिनोभ्याक खोपलाई डब्ल्यूएचओले दियो अनुमति

-



     सफल आवाज    
     जेठ १९ गते २०७८ मा प्रकाशित



काठमाडौं, १९ जेठ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चीनको सिनोभ्याक कम्पनीको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपलाई प्रयोग अनुमति दिएको छ।

यसअघि सिनोफार्म कम्पनीको भेरोसेल खोपलाई अनुमति दिएको डब्ल्यूएचओले चीनकै दोस्रो खोप सिनोभ्याकलाई आपतकालीन प्रयोगको लागि अनुमति दिएको हो।

अब चीनले यो खोप विश्वभर वितरण गर्न पाउनेछ। यो खोप १८ वर्ष माथिकालाई दिन मिल्ने बताइएको छ। डब्ल्यूएचओले यो खोप चार साताको अन्तराललमा दुई डोज लगाउनुपर्ने बताएको छ।

डब्ल्यूएचओले सिनोभ्याक खोपले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेकाले तत्कालिन प्रयोगका लागि अनुमति दिएको जनाएको छ।

सिनोभ्याक खोप लगाएका बिरामीलाई अस्पताल भर्ना हुनुपर्ने अवस्था सिर्जना नभएको बताइएको छ। यो खोप लगाएकामध्ये आधाभन्दा धेरै बिरामीमा लक्षण देखिएको छैन भने शतप्रतिशत मानिस अस्पताल भर्ना हुनु परेको छैन।

यो खोप चीनसँगै चिली, ब्राजिल, मोक्सिको, टर्की, थाइल्यान्ड र इन्डोनेसियामा यसअघि नै लगाउन थालिएको थियो।

सिनोभ्याकले चीन र विभिन्न देशमा गरेर यो खोपको ६० करोड मात्रा उत्पादन गरेकोमा ४३ करोड मात्र लगाइसकिएको छ। यो खोप दुईदेखि ८ डिग्री सेल्सियसको तापक्रममा सामन्य रेफ्रिजरेटरमा भण्डारण गर्न सकिन्छ।

खोप भण्डारण गर्ने क्षमता नभएका विकासोन्मुख देशका निम्ति यो सहज हुने अनुमान गरिएको छ। डब्ल्यूएचओले मान्यता दिएपछि यो खोप व्यापक मात्रामा वितरण हुने बताइएको छ।