उपत्यकामा जारी निषेधाज्ञा शुक्रबारदेखि केही खुकुलो : के खुल्छन्, के खुल्दैनन् ?

-



     सफल आवाज    
     जेठ २१ गते २०७८ मा प्रकाशित



काठमाडौं, २१ जेठ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा शुक्रबारदेखि केही खुकुलो बनाइएको छ।

जेठ १४ देखि एक हप्ता खाद्यान्न पसलसमेत खोल्न रोक लगाइएकोमा आजदेखि केही खुकुलो बनाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।

आजदेखि औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको लागि मात्रै बाहिर निस्कन पाइनेछ। डिपार्टमेन्टल स्टोर पनि बिहानको समयमा खुल्ने छन्। बाहिर निस्कँदा पनि कम्तिमा दुई मिटरको दुरी कायम गर्नुपर्नेछ। यस्तै अनिवार्य मास्क लगाउने र पटक पटक साबुन पानीले हात धुने गर्नुपर्छ।

काठमाडौंमा बैंक तथा वित्तीय संस्थाले प्रधान कार्यालय र तीन वटा शाखा, वाणिज्य बैंक र विकास बैंकले प्रधान कार्यालय र दुई वटा शाखाबाट सेवा दिन पाउने छन्। वित्त कम्पनीले प्रधान कार्यालय र एउटा शाखा खेलेर सेवा दिन पाउने छन्।

अत्यावश्यक बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान र बिमा लगायतका कार्यालय भने खुला हुने छैनन्। राति १० बजेदेखि बिहान ९ बजेसम्म मोटरसाइकल वर्कसप खोल्न पाइनेछ।

स्वास्थ्य मापदण्ड पालना गरेर आफु बसेकै ठाउँमा बढीमा ७ जनाको उपस्थितीमा विवाह गर्न पाइनेछ। तर पुजारीबाट हुने नित्य पूजा बाहेक सबै धार्मिक र साँस्कृतिक गतिविधिमा रोक लगाइएको छ।

तर सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल, सैलुन, ब्यूटी पार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, पुस्तकालय, संग्रहालय, चिडियाखाना, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसको भिडभाड हुने सबै प्रकारका कार्यक्रममा भने गर्न पाइने छैन।

शैक्षिक संस्थाहरु विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्रहरु पनि बन्द नै रहने छन्। सार्वजनिक गाडी जेठ ३१ गतेसम्म चलाउन पाइने छैन।

अत्यावश्यक सेवाहरु एम्बुलेन्स, खानेपानी, विद्युत मर्मत सम्भार, स्वास्थ्य सम्बद्ध सवारी साधनहरु, दुरसञ्चार, इन्टरनेट, मर्मत तथा फोहोरमैला व्यवस्थापनसँग सम्बन्धित सवारी साधनलाई भने सञ्चालन गर्न दिइनेछ।

यो निर्देशन अवज्ञा गर्नेलाई कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारवाही गर्ने पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।