मनसुन नेपाल भित्रियो : धेरै ठाउँमा पानी पर्ने

-



     सफल आवाज    
     जेठ २९ गते २०७८ मा प्रकाशित



काठमाडौं, २९ जेठ । यो वर्षको मनसुन नेपाल भित्रिएको छ ।

नेपालको पूर्वी भूभागबाट यो वर्षको मनसुन नेपाल प्रवेश गरेको मौसमविद्ले बताएका छन् ।

सामान्यतया नेपालमा जुन १० तारिखमा प्रवेश गर्ने मनसुन सेप्टेम्बर २३ तारिखमा बाहिरिन्छ । तर यो वर्ष एक दिन ढिला गरि मनसुन नेपाल प्रवेश गरेको हो ।

प्रदेश १, २ र बागमती प्रदेशमा प्रवेश गरेको मनसुन एकदुई दिनमै अरु प्रदेशमा फैलने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् वरुण पौडेलले आउँदो हप्ता मनसुन सक्रिय भई देशभरी नै हल्कादेखि मध्यम वर्षा हुने, केही ठाउँमा भारी वर्ष र थोरै ठाउँमा निकै भारी वर्षा हुने बताए । ठूलो पानीसँगै बाढी र पहिरोको जोखिम हुने भएकाले सतर्कता अपनाउन पनि उनले अनुरोध गरेका छन् ।

मनसुन भित्रिसकेकाले अबको तीन दिन देशभरी कै मौसम सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

शनिबार दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारी बर्षाको सम्भावना छ । शनिबार राति देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी बर्षाको संभावना छ।

यसैगरी आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी बर्षाको समेत सम्भावना छ ।

आइतबार राति देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, २, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारी बर्षाको सम्भावना छ ।

सोमबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारी बर्षाको सम्भावना छ ।

सोमबार राति देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा र प्रदेश २, बाग्मती र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा भारी बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पानी पर्ने क्रम बढ्ने भएकाले बाढी पहिरोको जोखिम पनि बढ्ने भन्दै भिरालो जमिन आसपास र नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन मौसमविद् पौडेलले अनुरोध गरेका छन् ।

यो वर्षको मनसुनमा नेपालमा औषतभन्दा धेरै पानी पर्ने यसअघि नै प्रक्षपण गरिएको छ ।