सरकारी निवास छोड्नुअघि पृथ्वीसुव्वा गुरुङले भने–विपक्षी गठबन्धनको आयु लामो छैन

-



     सफल आवाज    
     जेठ ३० गते २०७८ मा प्रकाशित



पोखरा, ३० जेठ । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले विपक्षी गठबन्धनको आयु लामो नभएको दाबी गरेका छन् । मुख्यमन्त्री निवास छोड्नुअघि आइतबार पत्रकारसँग कुराकानी गर्दै उनले सो कुरा बताएका हुन् ।

‘सर्वप्रथमतः जुन उद्देश्यअनुसार गठबन्धन बनाइएको छ, उद्देश्यअनुरुप चलोस् भन्ने कामना गर्छु,’ उनले भने, ‘जे गठबन्धन बनेको छ, पूर्व पश्चिमका आएर मिलेका छन्, त्यसको आयु लामो छैन ।’ उनले सत्ता प्राप्ति र कुर्सीको लागि गरिने गठबन्धनले सत्ता र कुुर्सी तलमाथि हुने वित्तिकै बिग्रह सुरु भइहाल्ने पनि बताए । उनले राजनीति भनेको निष्ठा, आदर्श र सिद्धान्तबाट चल्नुपर्ने समेत बताए ।

आफू सरकारबाट बाहिरिए पनि प्रदेश सभा र प्रदेश सरकारहरु ५ वर्षसम्म चल्नुपर्नेमा उनको जोड छ । उनले सरकारको नेतृत्व तलमाथि हुन सक्ने स्वभाविक भएको उल्लेख गर्दै प्रदेशसभा र प्रदेश सरकार ५ वर्ष पूरा कार्यकाल चले संघीयताका पुष्टी हुने बताए ।

गण्डकीको सरकार ढल्नुमा धेरैथोरै दोष केपी ओलीको पनि रहेको उनले उल्लेख गरेका छन् । उनले भने, ‘यसमा एउटा व्यक्तिलाई मात्र दोष दिन मिल्दैन । धेरैथोरै केपी ओलीको पनि गल्ती होला तर राजनीतिक दलले आफूलाई करेक्सन गर्नुपर्ने बेला आएको छ ।’

संविधानको धारा १६८ (५) बमोजिम आफूले पनि सरकारको दाबी गरेको विषयलाई उनले स्वीकारेका छन् । तर जे भएको छ, त्यो सबै संवैधानिक विधि र प्रक्रिया अनुरुप भएको भन्दै उनले यस विषयमा कुनै प्रश्न उठाउने ठाउँ छ र ? भनी पत्रकारलाई प्रतिप्रश्न गरे ।

उने भने, ‘सरकारको दाबा १ जनाले मात्र गर्न पाउने हो र ? अर्कोले पनि गर्न पाउँछ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै सांसदले सरकारको दाबा गर्न पाउँछ । कसैले दावा गर्ने वित्तिकै अर्कोले दाबा गर्न पाउँदैन भन्ने निरंकुश प्रवृत्ति कही हुन्छ ? सभामुखबाहेक ५९ जनाकै अधिकार छ ।’ उनले आफ्नो दल नेकपा एमालेका २७ जनाको लिस्ट दिएको प्रष्ट्याए ।

यसअघि आपूmले सरकार टिकाउन धेरै मन्त्रालय किन बनाएको नभै संघीयताको व्यवस्थाका लागि गरेको प्रबन्ध हो भने । उनले आफ्नो पालाको सरकारले ल्याएको बहुवर्षीय योजना समयमै सक्ने विषयमा अहिलेको सरकारको ध्यान जानुपर्ने सुझावसमेत दिए ।

नेकपा एमाले स्थायी कमिटी सदस्य समेत रहेका गुरुङ गण्डकीमा २०७४ फागुन ४ मा पहिलो पटक मुख्यमन्त्री नियुक्त भएका थिए । साथै दोस्रो कार्यकालका लागि वैशाख २९ मा पुनः मुख्यमन्त्री नियुक्त भएकोमा संसदमा विश्वासको मत गुमाउँदा पदच्यूत बनेका हुन् ।