राम मन्दिरमा घोटाला : केही मिनेटमै जमिनको मूल्य २ बाट १८ करोड !

-



     सफल आवाज    
     जेठ ३१ गते २०७८ मा प्रकाशित



भारतको अयोध्यामा राम मन्दिर निर्माणको लागि खरिद गरिएको जमिनमा ठूलो भ्रष्टाचार भएको आरोप लागेको छ ।

समाजवादी पार्टीको नेता एवं पूर्व विधायक तेजनारायण पाण्डेय अर्थात पवन पाण्डेयले दुई करोडमा किनिएको जमिन साढे १८ करोडमा खरिद गरेको आरोप लगाएका हुन् ।

राम जन्मभूमी ट्रष्टका सचिव चम्पत रायले यो आरोपलाई निराधार र राजनीतिक तरिकाले प्रेरित भएको बताएका छन् ।

उनले प्रेस विज्ञप्ती जारी गरेर राम जन्मभूमी तीर्थ क्षेत्र ट्रष्टले जति पनि जमिन खरिद गरेको छ त्यो खुला बजारको मूल्यभन्दा निकै कम मूल्यमा खरिद गरेको बताएका छन् ।

आइतबार समाजवादी पार्टीका नेता पवन पाण्डेयले अयोध्यामा पत्रकार सम्मेलन गरेर जुन दिन जमिनको बैना दुई करोड रुपैयाँमा गरिएको थियो त्यहि दिन जमिनको सम्झौता साढे १८ करोडमा भएको थियो ।

उनले राम मन्दिरको नाममा जमिन खरिदको बहानामा रामभक्तलाई ठगिएको दाबी गरेका छन् ।

जमिन खरिदको सबै खेलबारे मेर र ट्रष्टीलाई थाहा भएको भन्दै उनले जमिन खरिद प्रक्रियाको सीबीआई जाँचको माग पनि गरेका छन् ।