इजरायलका प्रधानमन्त्री बेनेटलाई अमेरिकी राष्ट्रपतिको बधाई

-



     सफल आवाज    
     जेठ ३१ गते २०७८ मा प्रकाशित



३१ जेठ (रासस-सिन्ह्वा): अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलका नवनियुक्त प्रधानमन्त्री नाफ्ताली बेनेटलाई बधाई दिएका छन् । अमेरिकी राष्ट्रपति बाइडेनले आइतबार फोन गरेर प्रधानमन्त्री बेनेटलाई बधाई ज्ञापन गरेका हुन्।

इजरायलको संसद नेसेटमा आइतबार साँझ सम्पन्न मतदानमा नाफ्ताली बेनेटले झिनो मतान्तरबाट बहुमत हासिल गर्न सफल भएका थिए। बेनेट आइतबार मात्र प्रधानमन्त्री नियुक्त भएको र उनले राति नै प्रधानमन्त्री पदको सपथ लिएका हुन् ।

फोनवार्ताका क्रममा अमेरिकाले आगामी दिनमा पनि विगतमा जस्तै इजरायलसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यस फोनवार्ताका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाको इजरायलभन्दा नजिक अर्काे कुनै पनि देश नरहेको बताएको समाचारमा जनाइएको छ।

इजरायलमा लामो समयदेखि प्रधानमन्त्रीका रुपमा सेवा गरेका बेन्जामिन नेतान्याहु बाहिरिएपछि आइतबार मात्र बेनेट इजरायलको प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।

इजरायलमा सत्तारुढ लिकुड पार्टीका नेता एवं प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको १२ वर्षे शासन समाप्त भएको छ । बेनेटले झिनो मतान्तरबाट बहुमत हासिल गर्न सफल भएसँगै नेतन्याहूको पद गुमेको हो।