छिट्टै कोभिडविरूद्धको खोप लिन बाइडेनकाे आग्रह

-



     सफल आवाज    
     असार १ गते २०७८ मा प्रकाशित



काठमाडौं, १ असार । मुलुकमा कोभिड–१९ को सङ्क्रमण अवस्थाबारे चिन्ता व्यक्त गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनाभाइरोसम्बन्धी खोप नलिएका अमेरिकीहरूलाई सकेसम्म छिट्टै खोप लगाउन आग्रह गरेका छन्।

अमेरिकी समय अनुसार सोमबार अपरान्ह् उनले ट्वीटरमार्फत् सन्देश जारी गर्दै भने, “यदि तपाई (अमेरिकी) नागरिकहरूले खोप लगाउनुभएको छैन भने बिना कुनै ढिलाई खोप लगाउनुहोस् । धेरै स्थानहरूबाट खोप सेवा उपलब्ध भइरहेको बताउँदै उनले थपे, “हामीसँग यो भाइरसलाई परास्त गर्न अझ धेरै काम बाँकी छ । सङ्क्रमण दरलाई कम गर्न खोप लगाउनुको विकल्प छैन।”

उनले सङ्क्रमणका कारण अमेरिकामा लगभग ६ लाख व्यक्तिको मृत्यु भएको बताए। धेरै जसो देश सामान्य अवस्थामा फर्किएको छ र हाम्रो आर्थिक सुधारले विश्वलाई नेतृत्व गरिरहेको छ । कोभिड–१९ सङ्क्रमणका कारण भएको मृत्युको सङ्ख्या उल्लेख्यरूपमा घट्दैछ । यद्यपि यसैमा सन्तुष्टि लिने अवस्था भने आइसकेको छैन, उनले भने।

यसैबीच ब्रसेल्समा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) शिखर सम्मेलनपछि गरिएको पत्रकार सम्मेलनका क्रममा उनले अमेरिकामा कोरोनाभाइरसबाट अझै पनि औसत दैनिक ३ सय ७० व्यक्तिको मृत्यु भइरहेको बताए।

राष्ट्रव्यापीरूपमा १८ बर्षभन्दा माथिका करीब ६४.५ प्रतिशत अमेरिकीले कम्तीमा खोपको एक मात्रा लगाइसकेका सीडीसीले जनाएको छ ।