सिन्धुपाल्चोकमा हरेक वर्ष ठूलो प्राकृतिक क्षति :७ वर्षमा १० बिपत्ति

-



     सफल आवाज    
     असार २ गते २०७८ मा प्रकाशित


तस्बिर : सामाजिक सञ्जाल


काठमाडौं, २ असार । सिन्धुपाल्चोकमा २०७१ सालयता हरेक वर्ष प्राकृतिक बिपत्तिले ठूलो क्षति गर्दै आएको छ। लगातारको वर्षापछि मेलम्ची र इन्द्रावतीसहित विभिन्न सानाठूला नदीमा आएको बाढीले ठूलो क्षति गरेको हो।

हरेक वर्ष बाढी र पहिरोले ठूलो क्षति गर्दै आएको सिन्धुपाल्चोकका केही बस्ती र गाउँ नै सुरक्षित ठाउँमा सारिएको भए पनि प्राकृतिक विपत्तिले स्थानीयलाई हरेक वर्ष प्रभावित पार्ने गरेको छ।

असार १ गतेदेखि निरन्तर परेको पानीले सिन्धुपाल्चोकको मेलम्ची, इन्द्रावती, ब्रम्हायणी र भोटेकोशीमा भीषण बाढी आएको हो। मेलम्ची खोलाले तिम्बु, चनौटे र मेलम्ची बजारमा ठूलो क्षति गरेको छ।

नदी तटीय क्षेत्रका ५० बढी स्थानीय सम्पर्कबिहीन भएका छन्। प्रहरीका अनुसार अहिलेसम्म मानवीय क्षतिको विवरण भने आइसकेको छैन। इन्द्रावतीले मेलम्ची नवलपुर जोड्ने पक्की पुल बगाएको छ ।

सिन्धुपाल्चोकमा लागातार प्राकृतिक बिपत्ति

  • २०७१ साल साउनमा जुरे पहिरोले १४५ जनाको ज्यान लिएको थियो।
  • २०७२ वैशाखमा पटकपटक गएको भूकम्पले तीन हजार पाँच सय ७१ जनाको मृत्यु भएको थियो।
  • २०७३ असार २१ गते भोटेकोशी बाढीले लिपिङ बजारका ३० घर बगाउँदा ठूलो क्षति भएको थियो।
  • २०७४ साउत ८ गते पहिरोले लार्चा पुल बगाउँदा भोटेकोशी र तातोपानीको सम्बन्ध विच्छेद भएको थियो।
  • २०७५ भदौ २ गते राति साँधी खोलामा आएको बाढीले पक्की पुल बगाएर २२ घरमा क्षति भएको थियो।
  • २०७७ असार २४ गते राति बाह्रबिसे को जम्बु बजार पुरिँदा दुई जनाको मृत्यु भएको थियो भने २२ जना बेपत्ता अहिलेसम्म भेटिएका छैनन्।
  • २७७ साउन १८ गते मेलम्ची बजारमा पहिरो पसेर ९ जनालाई पुरेको थियो। मेलम्ची बजार नजिकै पहिरोले ९ जना मजदुर र नजिकै बरुवामा घर पुरिँदा दुई स्थानीयको मृत्यु भएको थियो।
  • २०७७ साल साउन २२ गते चौतारा साँगाचोकगढी नगरपालिकामा चार घर पुरिएका थिए ।

-२०७७ साल साउन ३० गते जुगल गाउँपालिका पहिरो जाँदा ३७ घरमा क्षति पुगेको थियो।

  • २०७८ साल असार १ गते रातिदेखि मेलम्ची, इन्द्रावती, ब्रम्हायणी र भोटेकोशीमा भीषण बाढीले ठूलो क्षति गरेको छ। प्राप्त सूचना अनुसार नदी तटीय क्षेत्रबाट ५० बढी स्थानीय बेपत्ता भएका छन्। यसको थप विवरण आउन बाँकी छ।