जीवन विकास लघुवित्तको आइपीओ निष्काशन तथा बिक्री खुल्ला

-



     सफल आवाज    
     असार ११ गते २०७८ मा प्रकाशित



काठमाडौं, ११ असार । जीवन विकास लघुवित्त वित्तीय संस्थाले आजदेखि १९ करोड ७७ लाख रुपैयाँको आइपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले १०० रुपैयाँ मूल्य अंकित १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता शेयर निष्काशन गरेको हो ।

जारी गरिएको कुल शेयरमध्ये ३० हजार ४२० कित्ता शेयर कर्मचारीहरुको लागि रहेको छ । यस्तै ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि रहेको छ । बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता शेयर सर्वसाधारणका लागि रहेको छ ।

संस्थाका अनुसार लगानीकर्ताहरुले घटीमा १० कित्ता तथा बढीमा १ हजार कित्ता शेयरका लागि आवेदन पेश गर्न पाउने भएका छन् । यसका लागि लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अुनमति पाएका सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, तिनका तोकिएका शाखा कार्यालयहरु तथा अनलाइनमा मेरो शेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।

आइपीओमा लगानीका लागि चाँडोमा असारको १५ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिभित्र माग बमोजिमको आवेदन नपरेको खण्डमा असार २५ गतेसम्म आवेदन दिन सकिने भएकाे छ ।

संस्थाको जारी पूँजी ६० करोड ८४ लाख रुपैयाँको ३२.५० प्रतिशत शेयर बिक्रीका लागि ल्याइएको हो । संस्थाको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।