
कर्णाली प्रदेश सरकारले रुकुम पश्चिमको चौरजहारी प्रयोगशालामा कोभिड १९ को परीक्षणका लागि भनेर पठाएको किटले काम गर्न सकेको छैन ।
प्रदेश अन्र्तगतको स्वास्थ्य सेवा निर्देशनालयले पिसीआर विधिबाट पाँच सय जनाको स्वाब परीक्षण गर्न सक्ने किट पठाएकोमा सो किटले काम नगरेको चौरजहारी प्रयोगशालाले जनाएको छ । काम गर्ने नभएपछि सो किट प्रयोगशालामै थन्किएको छ । निर्देशनालयले सो किटसँगै एक्सट्रयाक्सन किट पनि भदौ ३ गते प्रयोगशालामा पठाएको थियो ।
निर्देशनालयले पठाएको किटले पिसीआर परीक्षणको नतिजा दिन नसकेको चौरजहारी नगरपालिकाका स्वास्थ्य सह–संयोजक डण्डप्रसाद शर्माले जानकारी दिए। पिसीआर र एक्ट्रयाक्सन किटले कुनै व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण भए नभएको पत्ता लगाउने काम गर्छन् । सो किटले कोरोना भाइरस पोजेटिभ वा नेगेटिभ नै छुट्याउन नसकेको सह–संयोजक शर्माको भनाइ छ । यसअघि पनि यो किट निर्देशनालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख प्रयोगशालामा पनि पठाएको बुझिएको छ । त्यहाँ पनि काम नगरेपछि फिर्ता भएका सो किट चौरजहारीमा पठाएको सह–सह–संयोजक शर्माले बताए। किटले काम नगरेपछि फिर्ता पठाउने तयारी भैरहेको उनकाे भनाइ छ ।
कर्णाली स्वास्थ्य सेवा निर्देशनालयले भने किट खराब नभएको दाबी गरेको छ । किट खराब भएको होइन, पिसीआर मेशिन र किट म्याच नभएको हुन सक्ने दाबी निर्देशनालयको छ । चौरजहारीमा पठाइएका किट म्याच नभएको जानकारी आएको र उक्त किट फिर्ता मागिएको निर्देशनालयका निर्देशक रीता भण्डारीले बताए । यी किट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पठाएको र सुर्खेतमा काम गरिरहेको निर्देशक भण्डारीको भनाइ छ । मेशिन अनुसार किटले काम गर्ने वा नगर्ने भन्ने सम्भावना हुने भएकाले चौरजहारीमा रहेको पिसीआर मेशिनसँग किट म्याच नभएको तर सुर्खेतमा भने काम भैरहेको उनले बताए ।
यसबीच चौरजहारी प्रयोगशालामा किट अभाव भएको छ । प्रयोगशालामा दैनिक सयौं स्वाब आउने गरेका छन् । तर प्रयोगशालामा किट नरहेको नगरपालिकाले जनाएको छ । प्रदेशले पठाएका किटले काम नगरेको र प्रयोगशालामा रहेका किट सकिएको नगर प्रमुख विशाल शर्माले बताए । किट खरिद गर्न आर्थिक अभाव रहेको उनकाे भनाइ छ । प्रयोगशाला स्थापनादेखि हालसम्म रु एक करोड ९६ लाख खर्च भएको छ । अब नगरपालिका एक्लैले खर्च धान्न सक्ने अवस्था नरहेको प्रमुख शर्माले बताए । रुकुम पश्चिम, सल्यान र जाजरकोटका स्वाब पनि यहाँ नै परीक्षण हुने गरेको छ । अहिलेसम्म यसका लागि कुनै स्थानीय तहले खर्च व्यहोरेका छैनन्।
चौरजहारी नगरपालिका—२ स्थित स्थापना भएको पिसीआर प्रयोगशालामा प्रदेश सरकारको केही लगानी भएपनि व्यवस्थापनका सम्पूर्ण कार्य नगरपालिकाले नै गर्दै आएको छ । रासस








पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले… 




