युनियन लाइफको ६४ करोड ५० लाख रुपैयाँको आइपीओ आजदेखि खुला

-



     सफल आवाज    
     असार २४ गते २०७८ मा प्रकाशित



काठमाडौं, २४ असार । अन्यत्र लगानीका उपयुक्त अवसरहरु नभई रहेको बेलामा विकास, बैंक तथा वित्तीय संस्थाहरुले आइपीओ निष्काशन गरिरहँदा यसले अर्थतन्त्रलाई केहि हदसम्म चलायमान बनाएको छ । लगानीका लागि नयाँ लगानीकर्ताहरुको आकर्षण र पूरानाहरुको निरन्तरताले शेयर बजार जिवित रहेको छ ।

यसैबीचमा युनियन लाइफ इन्स्योरेन्सले आइपीओमा लगानी गर्न लगानीकर्ताहरूको लागि अवसर जुटाईदिएको छ । बिहिबारदेखि कम्पनीले सर्वसाधारणका लागि ६४ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ निष्काशन गरेको छ ।

कम्पनीले ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुको लागि छुट्याएको छ । ३ लाख २२ हजार ५०० कित्ता सामुहिक लगानी कोषका लागि रहेको छ भने बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि रहेको छ ।

युनियन लाइफले आइपीओमा आवेदन गर्नका लागि असार २८ गते सम्मको म्याद तोकेको छ । सो म्यादभित्र माग बमोजिमको आवेदन नपरेको खण्डमा लगानीकर्ताले साउन ७ गतेसम्म आवेदन दिन सक्नेछन् । प्रतिशेयर १०० रुपैयाँको दरले घटिमा १० तथा बढीमा ३२ हजार २५० कित्तासम्म आवेदन गर्न सकिने भएको छ ।

लागनीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका सि-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट र मेरो शेयर एपबाट पनि आवेदन दिन सक्नेछन् ।

युनियन लाइफको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । चुक्ता पूँजी १ अर्ब ५० करोड ५० लाख रहेको कम्पनीको आइपीओ बिक्रीपछि चुक्ता पूँजी २ अर्ब १५ करोड पुग्ने भएको छ ।