हर्पन खोलामा निर्मित ड्याम बाढीले बगायो

-



     सफल आवाज    
     असार २४ गते २०७८ मा प्रकाशित



पोखरा, २४ असार । अविरल वर्षापछि आएको बाढीका कारण हर्पनखोलामा निर्मित सिल्टेसन ड्याम बगाएको छ । त्यसको तल्लो तटीय क्षेत्रका करिब १५ घर जोखिममा परेका छन् ।

पोखरा महानगरपालिका वडा २३, डुडेको फाँटमा निर्माण भएको हर्पनखोला सिल्टेसन ड्याम गएरातिको वर्षापछि आएको बाढीले बगाएको हो । फेवातालमा पानीको लागि मुख्य स्रोत हर्पन हो ।

स्थानीय चेतबहादुर क्षेत्रीका अनुसार ड्याम निर्माणको २ वर्ष पूरा नहुँदै जगदेखि नै बगाएको हो । गत वर्ष पनि सो ड्याममा बाढीले क्षति पुराएको थियो ।

फेवातालको सिरान क्षेत्रका खोलाहरुबाट बगेर आउने ढुंगा, गिटी, माटो, बालुवा लगायतका ग्रेगर बगेर फेवातालमा मिसिँदा वर्षेनि तालको गहिराइ घट्दै गएकोमा सिल्ट पोखरी र ड्याम निर्माणसँगै ताल पुरिनबाट जोगिने विश्वास थियो । त्यसबेला नै ड्याम निर्माणमा गुणस्तरहीन सामान राखेको भन्दै स्थानीयले विरोध जनाएका थिए ।

गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त लगानीमा फेवाताल संरक्षणको लागि भन्दै हर्पनखोला, अँधेरीखोला, लौरुकखोला र बेतनीखोलाका विभिन्न ४ स्थानमा ड्याम बनाइएको थियो । वेतयानी र लौरुकखोलामा ५० मिटर लम्बाइ, ५० मिटर चौडाइ र ४ मिटर उचाइको, अँधेरीखोला र हर्पनखोलामा १ सय मिटर लम्बाइ, १ सय मिटर चौडाइ र ४ मिटर उचाइको सिल्टेसन ड्याम बनाइएको हो । त्यसको जिम्मा सिल्टेसन ड्याम पिके जेभी कन्स्ट्रक्सनले लिएको थियो ।

पोखरा २४ स्थित वेतयानी खोलामा निर्माण गरिएको सिल्टेसन ड्याम गीता÷जयनेपाल इश्वर जेभीले जिम्मा लिएको थियो । यसको लागत ५ करोड ४६ लाख ५८ हजार रुपैयाँ थियो भने पोखरा २४ लौरुकखोलामा निर्माण भएको सिल्टेसन ड्याम खड्का कृष्ण÷पिके जेभी दाङले ५ करोड ७४ लाख ८४ हजारमा बनाएको थियो ।

पोखरा २३ र २४ स्थित अँधेरीखोलामा निर्मित सिल्टेसन ड्याम खड्का कृष्ण÷पिके जेभी दाङले नै निर्माण गरेको थियो । यसको लागत ९ करोड ६ लाख ४ हजार थियोे । तालको सिरान क्षेत्र हर्पनखोलामा बनाइएको ड्याममा ७ करोड ८८ लाख खर्च भएको थियो ।