मन्त्री नियुक्तिको विषयलाई लिएर भ्रम नछरौं: मन्त्री बिन्दुकुमार थापा

-



     सफल आवाज    
     श्रावण १० गते २०७८ मा प्रकाशित



पोखरा, १० साउन । गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री बिन्दुकुमार थापाले आफ्नो मन्त्री नियुक्तिको विषयलाई लिएर गरिएको टीकाटिप्पणीप्रति आपत्ति जनाएका छन् ।

उनले आइतबार राति प्रेस विज्ञप्ति जारी गर्दै कास्कीको राजनीतिक कमजोर बनाउने र आफ्नो छवि धुमिल्याउन अनावश्यक भ्रमण सिर्जना गरिएको भन्दै आपत्ति जनाएका हुन् ।

‘पछिल्लो समय केही सञ्चारमाध्यमले मन्त्री नियुक्त सम्बन्धमा मेरोबारेमा प्रकाशन÷प्रसारण गरेका केही समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले विज्ञप्तिमार्फत् प्रष्ट पारेका छन्, ‘मन्त्रिपरिषदको सदस्यको नियक्तिको सम्पूर्ण अधिकार मुख्यमन्त्रीमा निहित छ । कांग्रेसको लागि मैले गरेको योगदान, प्रदेशसभा सदस्य निर्वाचित भएपछि सांसदको हैसियतमा संसदीय दलले दिएको जिम्मेवारीको पूर्ण सफल कार्यान्वयन, पछिल्लो समय गठबन्धनको सरकार निर्माणका बखत मैले खेलेको भूमिका लगायत म कानूनको विद्यार्थी भएको नाताले माननीय मुख्यमन्त्रीज्यूले मन्त्रिपरिषदको सदस्यमा कानुन, संचार तथा संसदीय मामिला मन्त्रिका रुपमा नियुक्त गर्नुभएको हो ।’

साथै उनले भनेका छन्, ‘गण्डकी प्रदेशको राजधानीबाट एकमात्र निर्वाचित म मन्त्रीको जिम्मेवारीमा रहिरहँदा कांग्रेसको कास्कीको राजनीति कमजोर बनाउने र मेरो छवि धुमिल्याउन अनावश्यक भ्रम सिर्जना गर्न प्रतिपक्षी उद्धत रहेको छ । पार्टीकै केही पदाधिकारीले आफ्नो व्यक्तिगत स्वार्थका खातिर केन्द्रीय नेतृत्वलाई नै आक्षेप आउने गरी तथा महाधिवेशनलाई नै प्रभाव पार्ने गरी पार्टी नीतिविपरीत गुटगत रुपमा आक्रमण गर्न खोजिरहेको स्पष्ट नै छ ।’

प्रदेशको राजधानी पोखरामा नेपाली काँग्रेसका तर्फबाट प्रत्यक्ष निर्वाचित एकमात्र सांसद भएको हुँदा पनि सरकारमा मेरो प्रतिनिधित्वलाई मैले प्रत्यक्षतर्फ मलाई विजयी गराउने आममतदाता, दाजुभाइ, दिदीबहिनीको मतको समेत कदर भएको आफूले महसुस गरेको उल्लेख गरेका छन् । उनले लोकतन्त्र प्राप्तिको आन्दोलनमा लामो समय सहकार्य गरेका पार्टीका जिम्मेवार साथीहरु र आफूलाई जोडेर गरिएका अनर्गल प्रचारका भ्रममा नपर्न समेत सम्पूर्णमा अनुरोध गरेका छन् ।

२०७४ सालको प्रदेशसभा चुनावमा कास्की जिल्लामा काँग्रेसबाट प्रत्यक्षमा चुनाव जित्ने उनी एकमात्र सांसद हुन् ।

शपथका लागि पोखरा आउँदै गरेका काँग्रेसका दोबाटे बिकलाई उछिनेर उनले मन्त्रीको शपथ लिएको भन्दै टीकाटिप्पणी गरिएको छ ।