मुख्यमन्त्री पोखरेलविरुद्ध तेस्रो पटक अविश्वास प्रस्ताव दर्ता

-



     सफल आवाज    
     श्रावण १९ गते २०७८ मा प्रकाशित



बुटवल, १९ साउन । लुम्बिनी प्रदेश सभाको विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध मंगलवार अविश्वासको प्रस्ताव दर्ता गरेको छ । मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभा सचिवालयमा विपक्षीबाट दर्ता गरिएको यो तेस्रो अविश्वासको प्रस्ताव हो ।

प्रदेशसभा सचिवालयका सचिव दुर्लवकुमार पुन मगरले दिउँसो ३ः४५ बजे पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको जानकारी दिए ।

माओवादी केन्द्रका कूलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको सचिव पुनले जानकारी दिए । ३४ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।

मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षीले वैशाख ६ गते पहिलो पटक अविश्वासको प्रस्ताव दर्ता गरेका थिए भने दोस्रो पटक वैशाख २६ गते पुनः अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।