पोखरा वडा नं ५ ले सार्वजनिक गर्यो १५ करोढ बढीका ठूला र साना योजना

-



     सफल आवाज    
     श्रावण २१ गते २०७८ मा प्रकाशित



पोखरा, २१ साउन । पोखरा महानगरपालिका वडा नं ५ ले गते आर्थिक वर्ष तथा आर्थिक वर्ष २०७८, २०७९ का लागि खर्च तथा लागत विवरण सार्वजनिक गरेकाे छ । नयाँ याेजनाहरूका लागि १५ करोड बढी रकम छुट्याइएकाे छ ।

पोखरा महानगरपालिका वडा नं ५ ले आर्थिक वर्ष २०७७, २०७८ को विकास तथा मानविय सशक्तिकरणका शिर्षकमा वडाले गरेको खर्च विवरण सार्वजनिक गरेको छ ।

वडा नं ५ वडा अध्यक्ष धनबहादुर नेपालीले तीन करोड ४६ लाख ५४ हजार ५०० रुपैयाँको खर्च विवरण सार्वजनिक गरेका छन् । बुधबार वडामा आयोजना गरिएको खर्च विवरण सार्वजनिकिकरण कार्यक्रममा नेपालीले वडास्तरिय योजनाहरुमा ५१ लाख ५९ हजार ५०० रुपैयाँ खर्च भएको बताए । रकम खर्च भएका योजनाहरु बाटो ढलान, सडकमा नाला निर्माण, नहर कूलो, व्याडमिन्टन कोर्ट लगायतका रहेका छन् ।

यसपटक वडाले मानविय सशक्तिकरणको क्षेत्रमा १५ लाख त्रिहत्तर हजार रुपैयाँ खर्च गरेको छ । बालबालिकाको लागि वक्तृत्वकला, स्थानियस्तरको उत्पादन, महिला सशक्तिकरणका लागि तालिम, राहत वितरण, विद्यालय सहयोग, अनुदान तथा वडा कार्यालयको सभाहल व्यवस्थापनमा खर्च गरिएको विवरण सार्वजनिक गरे ।

वडाध्यक्ष नेपालीले महानगरिय योजनाका लागि १ करोड ५६ लाख २२ हजार रुपैयाँ खर्च भएको बताए । जरेबर धारापानी सडक ढलानका लागि, रिटेनिङ पर्खाललगायतमा ९० लाख खर्च गरिएको छ । शान्ति मार्गमा पीच, रिसोलिङका लागि २० लाख, पन्चकोशी मार्गमा मर्मतको लागि १६ लाख, गहन मार्ग स्तरोन्नतीको लागि १५ लाख, झौरीखेत बाटो ढलान तथा खानेपानी बिस्तारका लागि १० लाख ९२ हजार खर्च गरिएको छ ।

५ नं वडामा नयाँ १० वटा योजनालाई समावेश गरिएको छ । आर्थिक वर्ष ०७८, ०७९ का लागि ११ करोड ७० लाख रुपैयाँ वजेट छुट्याईएको छ । प्राथमिकतामा वडा नं ४ र ५ जोड्ने पुल परेको छ । यसका लागि तीन करोड ९२ लाख रहेको छ । जो अहिले निर्माणाधिन अवस्थामा रहेको छ । यस्तै बाराही माविको कक्षाकोठा निर्माणका लागि दुई करोड तेइस लाख छुटयाईएको छ । यो रकम राष्ट्रिय पुनर्मिाण प्राधिकरणबाट आएको हो ।