साना बालबालिकाले क, ख समेत बिर्सिए

-



     सफल आवाज    
     श्रावण २२ गते २०७८ मा प्रकाशित



टीकापुर, २२ साउन। लामो समय विद्यालय बन्द भएपछि साना बालबालिकाले क, ख समेत बिर्सन थालेका छन् । वैशाख महिनायता कैलाली जिल्लामा विद्यालय बन्द भएपछि अध्ययन गर्न नपाउँदा बालबालिकाले सिकेका कुरासमेत बिर्सिएका अभिभावक बताउँछन् ।

टीकापुर–१ का छपिलाल चौधरीकी छोरी प्रिन्सा चौधरी स्थानीय विद्यालयमा कक्षा १ उत्तीर्ण भएर कक्षा २ मा पढ्ने तयारीमा थिइन। वैशाखयता विद्यालय बन्द भएपछि प्रिन्साले अचेल क, ख, समेत बिर्सेकी छन् । “राम्रो पढिरहेकी छोरीले अचेल क, ख र ए, बी, सी, डीसमेत बिर्सिएकी छिन्, अस्ति यसो पढाउन खोजेको छोरीले सबै बिर्सिएको देख्दा चिन्ता बढ्यो”, अभिभावक छपिलालले भने, “साना बालबालिकाले छिटो बिर्सने रहेछन् । चार महिनादेखि विद्यालय बन्द हुँदा बालबालिकाको पढाइ लथालिङ्ग भएको छ ।”

टीकापुर–३ की गीता विकका छोराको हालत पनि यस्तै छ । जागिरे गीताले कक्षा १ मा अध्ययनरत छोरालाई समय दिनसमेत पाउन्नन् । उनी काममा जाँदा छोरा भुल्ने भनेको मोबाइल र टेलिभिजनमा हो । गीताको छोराले पनि पढेका सबै कुरा बिर्सन थालेको छ । “कक्षा १ मा पढ्ने छोराले सबै कुरा बिर्सिसकेको छ । विद्यालय अझै नखुले छोराको पढाइ शून्यबाट सुरु गर्नुपर्ने देखिन्छ”, गीताले भनिन् “साना बालबालिकालाई अध्ययन गराउने विकल्प छैन । हामीले घरमै पनि पढाउन सकेका छैनौँ ।”

जोशीपुरकी धना धामीको नातिको पनि विद्यालय बन्दका कारण पढाइ बिग्रिएको छ । धनाको नाति कक्षा ४ मा पढ्छन् । धनालाई पनि नातिले पढेका सबै कुरा बिर्सिएपछि तनाव भएको छ । “विद्यालय नचलेपछि नाति दिनभरि साना केटाकेटीसँग खेल्छ, न गृहकार्य छ, न त अर्को शैक्षिक सत्रका किताब किन्न पाइयो”, धनाले भनिन, “अझै कोरोना महामारी फैलँदै छ । विद्यालय चल्ने टुङ्गो छैन । बालबालिकाको पढाइ त बर्बाद भयो ।”

सरकारले अध्ययनका लागि विकल्प खोजेर अध्यापन गराउन भनेको छ तर कैलालीमा अनलाइनमार्फत अध्यापन गराउन निकै कठिन छ । अभिभावक रुपा सार्की विपन्न अभिभावकले अनलाइन कक्षामा सहभागी गराउन नसक्ने, विद्यालयले पनि त्यसरी पढाउने वातावरण नभएको बताउँछिन् । “यहाँका सामुदायिक विद्यालयले अनलाइन कक्षा चलाउन सम्भव छैन, विद्यालय आफैँ सुविधासम्पन्न छैनन्”, उनी भन्छिन्, “अभिभावक कतिपयका त मोबाइल नै छैन, कहाँबाट इन्टरनेटको पहुँमचा पुग्नु ? विद्यार्थीको भविष्य अन्धकारतर्फ जाँदैछ ।”

विद्यालय बन्द भएपछि साना बालबालिकाले सामान्य पढाइसमेत बिर्सन थालेका छन् भने माथिल्ला कक्षामा पढ्ने बालबालिकामा पढाइ नियमित नगर्ने जोखिम बढेको छ । भजनीका रामलाल चौधरीका छोरा कक्षा ९ मा अध्ययनरत थिए । विद्यालय बन्द भएपछि रामलालका छोरा कमाउनका लागि भारत लागेका छन् ।

रामलालका छोरा जस्तै कक्षा ९, १० मा अध्ययनरत धेरै बालबालिका पढाइ बन्द हुँदा कमाउन भारत तथा नेपालका अन्य जिल्ला गएका छन् । अझ बालविवाहको जोखिम पनि त्यत्तिकै छ । कैलाली जिल्ला कोरोना सङ्क्रमणको उच्च जोखिममा छ । एक महिना ओरालो लागेको सङ्क्रमण पुनः फैलन थालेपछि जिल्ला प्रशासन कार्यालय कैलालीले साउन ३२ गते सम्मका लागि निषेधाज्ञा लम्बाएको छ । कैलालीमा विद्यालय खुल्ने त सम्भावना पनि नभएको शिक्षकहरु बताउँछन् ।

स्थानीय पालिकाहरुले विद्यार्थीको भौतिक उपस्थिति हुने गरी पठनपाठन नगर्न, कोचिङ तथा ट्युशन सेन्टर नचलाउन निर्देशन दिएका छन् । यहाँका केही विद्यालयमा चहलपहल हुन थालेपछि बुधबार कैलालीको टीकापुर नगरपालिकाले सूचना निकालेर जोखिम बढेकाले भौतिक उपस्थिति हुने गरी पठनपाठन नगर्न, कोचिङ तथा ट्युशन सेन्टर नचलाउन निर्देशन दिएको छ । “स्वास्थ्य ठूलो कुरा हो । बाँचेमा अर्को वर्ष अध्ययन गरे पनि हुन्छ ।