प्रोग्रेशिभ फाइनान्सको थप शाखा जीतपुर सिमरामा

-



     सफल आवाज    
     श्रावण २९ गते २०७८ मा प्रकाशित



काठमाडौं, २९ साउन । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले प्रदेश नं २ को जीतपुर सिमरा उपमहानगरपालिका २ मा शाखा कार्यालय विस्तार गरी आजबाट कारोबार शुरुवात गरेको छ । वित्तीय संस्थाको यो शाखा थप भएपछि अब १४ वटा शाखा र ५ वटा एक्सटेन्शन काउन्टरहरुबाट वित्तीय सेवा प्रवाह हुनेछन् । फाइनान्सले प्रदान गरिरहेका सम्पूर्ण सेवा सुविधाहरु उक्त नयाँ शाखाबाट समेत प्रवाह हुने बताइएको छ ।

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँईले कोभिड १९को महामारीका बीच स्थापना गरिएको नयाँ शाखाले जीतपुर सिमरा नगरक्षेत्र सहित आसपासका अन्य गाउँपालिका तथा नगरपालिकाहरुमा बसोबास गर्ने स्थानीय जनताको घरदैलोमा नै पुग्ने गरी उच्चतम प्रविधिको उपयोगद्वारा निक्षेप संकलन तथा कर्जा प्रवाह लगायतका वित्तीय सेवाहरु उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

एटीएम, मोबाइल बैंकिङ, इ बैंकिङ, आइपीएस, कनेक्ट आइपीएस, सी आस्वा लगायत प्रविधिमा आधारित आधुनिक डीजीटल बैकिङ तथा रेमिटान्स सेवाहरुको उपलब्धता रहेको यस प्रोग्रेशिभ फाइनान्सले छिटै शाखारहित बैकिङ सेवा सञ्चालन गर्ने योजना अघि बढाएको छ ।

फाइनान्सले केही दिन भित्र नै देशका प्रमुख शहर तथा शहरोन्मुख क्षेत्रहरुमा थप २ वटा शाखाहरु तथा एक विस्तारित काउन्टर स्थापना गरी कारोबार सञ्चालन गर्ने तयारी गरेको नायब प्रमुख कार्यकारी अधिकृत महेश्वर पहारीले सफल आवाजलाई बताए ।