माैद्रिक नीतिप्रति लगानीकर्ता असन्तुष्ट, बजारमा नकारात्मक प्रभाव पार्न दिन्नौं : मन्त्री शर्मा

-



     सफल आवाज    
     श्रावण ३१ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३१ साउन । अर्थमन्त्री जनार्दन शर्माले बजारलाई नकारात्मक प्रभाव पार्ने कामलाई रोक्ने बताएका छन् । नेपाल इन्भेष्टर्स फोरम तथा शेयर लगानीकर्ता संघले शेयर कर्जाको सिमा सम्बन्धमा असन्तुष्टि जनाउँदै अर्थमन्त्रालयमा ज्ञापनपत्र बुझाउन गएको बेला मन्त्री शर्माले बजारलाई नकारात्मक प्रभाव पाने खालको कार्य हुन नदिने बताएका हुन ।

दुबै संस्थाले मौद्रिक नीतिमा बारेमा लेखेका छन्, ‘४० लाखभन्दा बढी हितग्राही खाता भएको, ९ लाखको हाराहारीमा अनलाइन प्रयोगकर्ता भएका, करिब ४४ अर्बको बजार पूँजीकरण भएको राज्यको वार्षिक बजेटभन्दा करिब ३ गुणा ठूलो आकारको, कुल ग्राहस्थ उपादनको ९० प्रतिशत स्थान ओगटेको पूँजी बजारलाई नजर अन्दाज गर्न सकिदैंन ।’

सरकारलाई राजस्वको रुपमा गत वर्ष १४ अर्ब ६ करोड बयालीस लाख ५५ हजार ८२३ रुपैयाँ पुँजीगत लाभकरको रुपमा योगदान दिएको जनाईएको छ । यस्तै गत वर्ष १४ खर्ब ३८ अर्बभन्दा बढी रकमको शेयर कारोबार भएको र देशको कुल जनसंख्याको हितग्राही खाताका संख्याको आधारमा करिब १५ प्रतिशत नागरिकको प्रत्यक्ष अप्रत्यक्ष सहभागिता रहेको पूँजी बजार अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको यथार्थ हो भनिएको छ ।

आर्थिक वर्ष २०७८, २०७९ का लागि जारि गरिएको माैद्रिक नीतिमा नेपालको संविधानले प्रदत्त गरेको मौलिक अधिकार प्रयोग गर्दै उपभोग गर्दै आएको शेयर कर्जामा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोडसम्म मात्र लिन सक्ने व्यवस्थाप्रति गम्भिर आपत्ति भएको जनाईएको छ । उक्त नीति अविलम्व खारेजीको माग गर्दै पुरानै व्यवस्थालाई निरन्तरता दिन अनुरोध गरिएको छ ।