तेह्रथुम पावर कम्पनीले भदौ ९ गतेदेखि ८ करोडको आइपीओ निष्काशन गर्दै

-



     सफल आवाज    
     श्रावण ३२ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३२ साउन । तेह्रथुम पावर कम्पनीले भदौ ९ गतेबाट ८ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन तथा बिक्रीका लागि ल्याउने भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि २० प्रतिशतले हुने ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर बिक्री गर्ने भएको हो । यसअघि कम्पनीले आयोजना प्रभावित तेह्रथुमका जनताका लागि ४ लाख आइपीओ बिक्री गरीसकेको छ ।

कम्पनीका अनरसार २ प्रतिशत शेयर कर्मचारी र ५ प्रतिशत शेयर सामूहिक लगानी कोषका लागि छुट्याईएको छ । बाँकी हुन आउने ७ लाख ४४ हजार कित्ता सर्वसाधारणका लागि रहेको छ ।

शेयर लगानीकर्ताले भदौको १३ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेको खण्डमा ढीलोमा भदौ २३ गतेसम्म आवेदन दिन सकिने छ । आवेदनकर्ताले घटिमा १० तथा बढीमा ६० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले आइपीओ निष्काशनको लागि असार १० गते नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएको थियो । रुपैयाँ १०० अंकित दरमा १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता शेयर निष्काशन तथा बिक्रीका लागि गत असोज १३ गते आवेदन दिएको थियो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।